‘स्रोत केन्द्र नहुँदा पुनर्निर्माणमा ढिलाई’

  • 19 मार्च 2016

भूकम्प प्रभावित जिल्लामा अनुदान वितरण कार्यक्रमलाई प्रभावकारी बनाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान वितरण र निरीक्षणका लागि आवश्यक स्रोत केन्द्रको स्थापना हुन नसक्दा पुनर्निर्माणसम्बन्धी काममा ढिलाई भएको बताएको छ।

झण्डै डेढ सय स्रोत केन्द्र स्थापना गर्न २ हजारभन्दा बढी जनशक्ति आवश्यक हुने बताइएपनि उक्त जनशक्ति पूर्ति गर्न सरकारले हालैमात्र सूचना जारी गरेको छ।

प्राधिकरणको योजना अनुसार ३ देखि ६ वटा गाँउलाई समेट्ने गरी एउटा स्रोत केन्द्रको स्थापना गरिनेछ।

त्यसका लागि प्रभावित सबै १४ वटा जिल्लामा १६० वटा केन्द्र आवश्यक पर्ने बताइन्छ तर जनशक्ति अभावका कारण प्राधिकरणले त्यो काम शुरु हुन नसकेको बताएको छ।

जनशक्ति

प्राधिकरणका प्रवक्ता सुरेश अधिकारीले भने, “एउटा जिल्लामा १० देखि १५ वटासम्म स्रोत केन्द्र रहनेछ, त्यहाँ प्राविधिक जनशक्ति रहेपछि मात्रै काम अगाडि बढ्छ, त्यो उपलब्ध भइसकेको छैन, समस्या यही हो।”

इन्जिनियर, सहायक इन्जिनियर र प्रशासनिक अधिकारी गरी एउटा स्रोत केन्द्रमा १० देखि १५ जना कर्मचारी आवश्यक हुने बताइएको छ।

आवश्यकता पूरा गर्न शहरी विकास तथा भवन निर्माण विभागले दुई पटक गरी अस्थायी कर्मचारी भर्ना गर्न सूचना जारी गरिसकेको छ।

तस्वीर कपीराइट prem baniya

प्राविधिक नियुक्ति गर्न कम्तीमा एक महिना लाग्ने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ।

आवेदन

विभागका उप महानिर्देशक शिवहरि शर्मा भन्छन्, “हामीले करिब ३४०० को अन्तर्वार्ता लिइसकेका छौँ, अब थप आवेदन कति आउँछ त्यस अनुसार समय लाग्नेछ, सूचना १५ दिनको निकालिएको छ, अरु कामका लागि १० देखि १५ दिन लाग्नेछ, हामीले एक महिनाभित्रमा सबै काम पूरा गर्छौँ।”

विभागका अनुसार अहिले तथ्यांक विभागमा काम गरिरहेका र अन्य इच्छुक प्राविधिकहरुलाई स्रोत केन्द्रको काममा पठाइनेछ।

विभागले कर्मचारी उपलब्ध नगराएसम्म प्राधिकरण भने पर्खिरहनुपर्ने हुन्छ।

भूकम्प गएको एक वर्ष हुन लाग्दा पीडितहरुले राज्यबाट खासै राहत पाएको अनुभूति गर्न नसकेको बताउने गरेका छन्।