‘नेपालमा लगानी गर्नुहोस्’

  • 22 मार्च 2016

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीले नेपालमा लगानीका उपयुक्त अवसरहरु रहेको भन्दै चिनियां उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

तस्वीर कपीराइट Mahesh Acharya BBC

चीन-नेपाल लगानी मञ्चलाई आज सम्बोधन गर्दै ओलीले जलविद्युतदेखि लिएर निर्माण क्षेत्रसम्ममा लगानीका अवसरहरु रहेको औल्याए।

लगानीका लागि सहज वातावरण बनाइदिन सरकारले कानुनी प्रावधानहरुमा सुधार ल्याएको भन्दै उनले नेपाल चीन र दक्षिण एसियाली बजार जोड्ने महत्वपूर्ण माध्यम पनि बन्न सक्ने बताए।

सुझाव

संविधान जारी गरिएपछि नेपाल आर्थिक प्रगतिमा केन्द्रित हुन चाहेको उल्लेख गर्दै प्रधानमन्त्रीले उक्त अवसरको उपयोग गर्न सुझाव दिए।

चीन नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार हो।

तस्वीर कपीराइट Mahesh Acharya BBC

नेपालमा वैदेशिक लगानीको प्रतिवद्धता व्यक्त गर्ने सूचीमा भने चीन अहिले पहिलो नम्बरमा उक्लिसकेको छ।

लगानी बोर्डका प्रमुख कार्यकारी राधेश पन्तले लगानीबाट फाइदा लिन आवश्यक तत्व सबै नेपालमा रहेको भन्दै लगानी वृद्धि गर्न चिनियां उद्योगीव्यवसायीलाई आग्रह गरे।

मंगलबार नै चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड र नेपाल च्याम्बर अफ कमर्सबीच एक समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ।