‘चीनको संवेदनशीलताप्रति नेपाल गम्भीर’

  • 22 मार्च 2016

महेश आचार्य

बीबीसी नेपाली, बेइजिङ

तस्वीर कपीराइट Mahesh Acharya

प्रधानमन्त्री केपी ओलीले चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाउँदै नेपालको समृद्धिमा सघाउन चीनलाई आग्रह गरेका छन्।

मंगलबार बेइजिङस्थित रेनमिन विश्वविद्यालयमा आयोजित प्रवचन कार्यक्रममा उनले त्यस्तो धारणा राखेका हुन्।

चीनको पछिल्लो अवधारणा ‘वान बेल्ट, वान रोड’ अर्थात् चीनबाट मध्य एसिया हुंदै युरोप जोड्ने चिनियाँ अवधारणामाथिको उक्त छलफल कार्यक्रममा ओलीले भने, “चीन हाम्रो लागि जुनसुकै बेलाको मित्र हो—सुखमा अनि दु:खमा पनि।”

‍उनले यातायात, सांस्कृति, राजनीति, प्रविधिको आपसी सञ्जाल ‘कनेक्टिभिटी’ बाट नेपालजस्ता अल्पविकसित मुलुकले पनि पर्याप्त फाइदा लिन सक्ने बताए।

प्रवचन

प्राचीन ‘सिल्क रोड’को नयां संस्करण मानिने उक्त अवधारणामा नेपाल पर्दैन।

तर ओलीले नेपाल, इतिहासमा महत्वपूर्ण व्यापारिक मार्ग रहेको र त्यसलाई अहिले पुनर्जीवित गर्न जरुरी रहेकोमा जोड दिए।

प्रवचनपछि चिनियाँ विद्यार्थी, प्राध्यापक लगायतले ओलीलाई प्रश्न गरेका थिए।

सुरुमा प्रश्न गर्ने एक जना विद्यार्थीले नेपालमा भूकम्पपछिको पुनर्उत्थानको काम कहां सम्म पुग्यो र चिनियां स्वयमसेवकहरुको भूमिकाबारे सोधेका थिए।

जवाफमा ओलीले पुनर्उत्थान र पुनर्निर्माणको एक शब्द पनि उच्चारण गरेनन् तर उनले भूकम्पपछिको अवस्थामा चिनियां पक्षले गरेको सहयोगको खुलेर प्रशंसा गरे।

साझेदार

राजनीतिक, आर्थिक र सैनिक मामिलासम्बन्धी क्षेत्रीय संगठन सांघाई कोअपरेशन अर्गनाइजेसन एससीओको नेपाल ‘डायलग पार्टनर’ बन्नेबारेको समझदारीपत्रमा मंगलबार नै चीनमा हस्ताक्षर भएको छ।

तस्वीर कपीराइट Mahesh Acharya

बेइजिङस्थित उक्त संगठनको मुख्यालयमा आयोजित कार्यक्रमा परराष्ट्रसचिव शंकरदास बैरागी र एससीओका महासचिव आर एलिमोभले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे।

चीन, रुस, किर्गिजस्तान, काजकस्तान, ताजिकस्तान र उज्वेकिस्तान मिलेर सन् २००१ मा निर्माण गरेको संस्थामा भारत र पाकिस्तान पनि सन् २०१६ देखि सदस्य भएका छन्।

‘डायलग पार्टनर’बाट पर्यवेक्षकको हैसियतमा उक्लिएपछि मात्रै संगठनको सदस्यताका लागि नेपाललाई बाटो खुल्नेछ।

नेपालले ‘डायलग पार्टनर’ बन्न पनि सन् २००७ देखि प्रक्रिया थालेको थियो।

हस्ताक्षरपछि कार्यक्रमपछि नेपालकोतर्फबाट सम्बोधन गर्दै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले एससीओका सिद्धान्तप्रति नेपाल प्रतिवद्ध रहेको भन्दै एससीओसंगको आवद्धता नेपालका लागि फलदायी हुने विश्वास व्यक्त गरे।