ब्रसल्स आक्रमणका संदिग्धको खोजी ‘तीव्र’

  • 23 मार्च 2016
तस्वीर कपीराइट AP

ब्रसल्सस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थल र एउटा मेट्रो स्टेशनमा गराइएको आक्रमणपछि बेल्जियम प्रहरीले एकजना संदिग्धविरुद्ध पक्राउ सूचना जारी गरेको छ।

पक्राउ गर्न सूचना जारी गरिएका व्यक्ति जावेन्टेम अन्तर्राष्ट्रिय विमानस्थलमा दुईवटा विष्फोट हुनु केही समयअघि दुईजना संदिग्धसँगै हिँडिरहेको देखिएका थिए।

अधिकारीहरुले ती व्यक्तिको तस्वीर सार्वजनिक गरेका छन्।

अभियोजनकर्ता फेरेडेरिक भान लेयूले भने, “संघीय निकायको प्रतिआतंकवाद शाखा र आतंकवादबारे विज्ञता हासिल गरेका तीनजना न्यायाधीशले तत्कालै अनुसन्धान शुरु गरेका छन्, विमानस्थलमा तीनजना संदिग्धको फोटो देखिएको छ र सम्भवतः उनीहरुमध्ये दुईजनाले आक्रमण गराएको हुनुपर्छ, टोपी र हल्का रंगको ज्याकेट लगाएका तेस्रो व्यक्तिको सक्रिय रुपमा खोजी भइरहेको छ।”

कारवाही

देशका विभिन्न भागमा खोजी कार्य जारी रहेको भन्दै उनले ब्रसल्सको स्कारबेक क्षेत्रस्थित एउटा अपार्टमेन्टमा किला, रासायनिक पदार्थसहितका विष्फोटक सामाग्री र इस्लामिक स्टेट समूहको झण्डा बरामद गरिएको बताए।

आक्रमणपछि बेल्जियमभर प्रतिआतंकवाद कारवाही गरिएको छ।

तस्वीर कपीराइट AFP

तथाकथित इस्लामिक स्टेट समूहले आक्रमणमा आफ्नो हात रहेको दाबी गरेको छ।

एउटा अनलाइन वक्तव्यमा उक्त समूहले भनेको छ, “आक्रमणका लागि सावधानीपूर्वक स्थान चयन गरिएको थियो र इस्लामिक स्टेट समूहविरुद्ध उभिएका देशहरुका निम्ति झन् नराम्रा दिनहरु आउन लागेका छन्।”

अमेरिकी विदेश मन्त्रालयले युरोप भ्रमणका क्रममा सम्भावित जोखिमबारे आफ्ना नागरिकलाई सजग गराएको छ।

राष्ट्रियशोक

उसको विज्ञप्तिमा भनिएको छ, “आतंकवादी समूहहरुले छोटो समयभित्र युरोपभर खेलकुद, पर्यटकीय स्थल, रेस्टुराँ र यातायातका साधनमा आक्रमण गर्ने योजना जारी राखेका छन्।”

तस्वीर कपीराइट AFP

बेल्जियममा जोखिमको स्तरलाई सबैभन्दा उच्चविन्दुमा राख्दै राजधानी ब्रसल्समा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।

गत नोभेम्बरमा प्यारिसमा गरिएको आक्रमणको मुख्य संदिग्ध भनिएका सलाह अब्देसलाम ब्रसल्समा पक्राउ परेको चार दिनपछि पछिल्ला आक्रमणहरु भएका छन्।

बेल्जियमले तीनदिने राष्ट्रियशोक घोषणा गरेको छ र स्थानीय समयअनुसार बुधबार ११ बजे एक मिनेन्ट मौनधारण गरिनेछ।

राजा फिलिपले आक्रमणलाई कायरतापूर्ण एवम् घृणित कार्यको संज्ञा दिएका छन्।