ह्यारी थप एक साता नेपालमै बस्ने

  • 23 मार्च 2016

ब्रिटेनका राजकुमार ह्यारीले नेपाल बसाईलाई एक साता लम्ब्याएका छन्।

आफ्नो एक साता लामो भ्रमण सकिनु एक दिन अगाडी उनले अब आउने साता मध्ये नेपालको भूकम्प प्रभावित हिमाली क्षेत्रमा स्वयंसेवकको रुपमा गई स्थानिय समुदायलाई उनीहरुको विद्यालय मर्मत र पुनर्निर्माणमा सहयोग गर्ने जानकारी दिएका छन्।

टिम रुबिकन यूके नामक एक ब्रिटिश परोपकारी संस्थासंग मिलेर उनले उक्त कार्य गर्ने जनाइएको छ।

गत वर्षको भूकम्पपश्चात नेपाललाई सहयोग गर्न उक्त संस्था ब्रिटिश स्थलसेनाका पूर्व प्रमुख सर नीक पार्करको अग्रसरता स्थापना भएको हो।

बुधबार ब्रिटिश दूतावासद्वारा आयोजित कार्यक्रममा बोल्दै राजकुमार ह्यारीले नेपालको सौन्दर्य र आफुले भेटेका मानिसहरुका कारण छाडेर जान गाह्रो भएको बताए।

आफुले नेपालमा पाएको न्यानो स्वागत यसअघि विरलै पाएको समेत उनले उल्लेख गरे।

नेपाल र ब्रिटेनबीच सम्बन्ध स्थापना भएको दुइ सय वर्षको मौका पारेर आएका राजकुमार ह्यारीले भूकम्प प्रभावित क्षेत्रका अतिरिक्त बर्दियाको निकुञ्जको भ्रमण तथा ब्रिटिश गोर्खा परिवारलाई समेत भेटेका थिए।