‘सौर्य बत्ती जोड्ने अभियान अर्को महिनादेखि’

  • 23 मार्च 2016

६० प्रतिशत सरकारी अनुदानमा देशभरका नगरपालिकाका सडकमा सौर्य बत्ती जोड्ने अभियान आगामी महिनाबाट शुरु गरिने स्थानीय विकास मन्त्रालयले जनाएको छ।

सडक झिलिमिली बनाउने जनसहभागितामा आधारित सौर्य बत्ती कार्यक्रमका निम्ति स्थानीय जनताको संलग्नताका लागि भन्दै सूचना जारी गरेको डेढ महिनामा थुप्रै प्रस्ताव आएपछि यो आर्थिक वर्ष तीमध्ये केही योजनामा काम गर्न सकिने उसले बताएको छ।

सबैभन्दा बढी काठमाण्डू महानगरपालिकाबाट १ सय ३६ उपभोक्ता समूहले सौर्य सडक बत्ती जडान गर्न निवेदन दिएको महानगरपालिकाले बताएको छ।

खपतको दृष्टिकोणले बढी जनसंख्या भएको काठमाण्डू महानगरपालिकाका कतिपय स्थानमा एकीकृत योजनाको प्रस्ताव समेत राखिएको महानगरपालिकाका भौतिक निर्माण विभागका प्रमुख उत्तरकुमार रेग्मीले बताए।

योजना

उनले भने, “महानगरपालिकाका सबैजसो उपभोक्ताले बाटोका लागि निवेदन दिएका छन्, त्यसबाहेक स्वयम्भू मन्दिरमा उज्यालो गर्ने, नयाँबजारको जुडो हलमा ३० किलोवाट शक्ति सञ्जय गरेर वरिपरि बाँड्ने तथा गोंग्बु आवास क्षेत्रले मात्र १८० वटा बत्ती अर्थात २ करोडको बत्ती बाल्ने प्रस्ताव राखेको छ।”

उक्त कार्यक्रम अनुसार सौर्य बत्ती जोड्न मन्त्रालयले ६० प्रतिशत अनुदान दिनेछ भने नगरपालिकाले २५ र स्थानीयवासीले १५ प्रतिशत स्रोत जुटाउनुपर्नेछ।

मन्त्रालयले देशभरका महानगर, उपमहानगर र नगरपालिकाहरुलाई सौर्य सडक बत्ती बनाउनका निम्ति गत फागुन १ गते आह्वान गरेको थियो।

डेढ महिनाको समयमा सोचेभन्दा धेरै प्रस्ताव आएको मन्त्रालयले जनाएको छ।

‘निरन्तर’

अहिले पहिलो चरणमा सम्भव हुने खाले योजना छान्ने काम भइरहेको र यसै आर्थिक वर्षमा सम्भव भएसम्मलाई बजेट उपलब्ध गराउने मन्त्रालयले योजना बनाएको छ।

स्थानीय विकास मन्त्रालयअन्तर्गतको नगरपालिका व्यवस्थापन शाखाका प्रमुख गुरु सुवेदीले भने, “काठमाण्डू महानगरपालिकादेखि दार्चुलाका नगरपालिकाले प्रस्ताव गरेका छन्, अधिकांश नगरपालिकाले चासो दिएकोले हामी चालू आर्थिक वर्षको बाँकी रहेको ३ महिनाभित्रमा सकेसम्म बढी स्थानमा यो कार्यक्रम पठाउन प्रयास गर्नेछौँ तर यो कार्यक्रम निरन्तर हुनेछ।”

लोडशेडिङको भारलाई कम गर्ने र नगरपालिकाहरुलाई सुन्दरतासहित झिलिमिली पार्ने भन्दै डेढ महिनाअघि जनसहभागितामा आधारित सौर्य बत्ती कार्यक्रम ल्याइएको थियो।