असन्तुष्ट पक्ष मुद्दा फिर्ता लिन तयार

  • 24 मार्च 2016
तस्वीर कपीराइट .
Image caption नेपालले साग खेलकुदमा फुटबलतर्फ स्वर्ण पदक जितेको थियो।

अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभा र कार्य समितिमा सहभागिता सुनिश्चित गरिए अदालतमा विचाराधिन मुद्दा फिर्ता लिन आफू तयार रहेको एन्फाको असन्तुष्ट पक्षले बताएको छ।

विवाद सल्टाउन आएका एसियाली फुटबल महासंघको प्रतिनिधिसंग बुधवार भएको वार्तामा असन्तुष्ट पक्ष सकारात्मक भएपछि गत ३ वर्षदेखि बस्न नसकेको एन्फाको साधारण सभा हुने आशा गरिएको छ।

असन्तुष्ट पदाधिकारीहरुले हालेको मुद्दा र अध्यक्ष गणेश थापामाथि फिफाको १० वर्षे प्रतिवन्धका कारण नेपाली फुटबल अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ।

उक्त विवाद हल गर्न एसियाली फुटबल महासंघ एएफसीले पनि पहल गरिरहेको छ।

तयार

तस्वीर कपीराइट Ganesh Thapa Facebook
Image caption एन्फाका पूर्व अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा दोषी ठहर गर्दै फिफाले प्रतिबन्ध लगाएको छ

साधारणसभा नगर्न अदालतले दिएको पत्र र त्यो संगै राष्ट्रिय खेलकुद परिषदले समेत नीतिगत निर्णय नगर्न आदेश दिएको अवस्थामा एएफसीका प्रतिनिधिहरु विवाद मिलाउन बुधवार दोस्रो पटक नेपाल आएका हुन्।

एसियाली फुटबलको अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख सञ्जीवन बालासिंघमले हिजो दुवै पक्षलाई भेट्ने क्रममा असन्तुष्ट पक्ष भनिएका कर्मा शेर्पाको टोलीसंग मुद्धा फिर्ता लिइ साधारण सभामा सहभागि हुन प्रस्ताव राखेका थिए।

उक्त प्रस्ताव आफूहरुले स्विकार गरेको असन्तुष्ट पक्षका कर्मा छिरिङ शेर्पाले बताए।

उनले भने,"साधारणसभा र कार्यसमितिमा उपस्थित हुनु पाउनु पर्ने हाम्रो माग हो। एएफसी, संस्थापन पक्ष र खेलकुद परिषद बसेर उक्त माग पूरा गरे हामी मुद्दा फिर्ता लिन्छौं। "

वैठकमा निरन्तर उपस्थिति नभएको भन्दै एन्फाले तीन उपाध्यक्ष शेर्पा, विजय नारायण मानन्धर, किशोर राई तथा सदस्य पंकज नेम्वाङलाई वर्खास्त गरेको थियो।

त्यसको विरोधमा उनिहरुले दायर गरेको मुद्दा अझै अदालतमा विचाराधिन छ।

प्रस्ताव

एन्फाको सस्थापन पक्षले पनि असन्तुष्ट पक्षलाई समेटेर लैजान वा अलग्गै साधारण सभाको स्विकृती दिन एएफसीका प्रतिनिधिहरु समक्ष प्रस्ताव राखेको पदाधिकारीहरुले बताएका छन्।

एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने,"साधारण सभाबाट निर्क्यौल गर्ने भनेपछि सवै पक्षको सहमतिमा निर्णय हुनेछ। त्यही साधारण सभामा चुनाव पनि गर्न सक्नेछौं। उहाँहरुको बर्खास्तीको विषयमा पनि त्यसैमा ठोस निर्णय हुनेछ।"

उक्त साधारण सभाले असन्तुष्ट चारजना विपक्षीलाई वर्खास्त गरिएको यसअघिको निर्णय अनुमोदन गर्ने वा रद्ध गर्ने विषयमा निर्णय गर्नेछ।

त्यसबाहेक एन्फाको कार्यवाहक अध्यक्ष पदको निर्वाचन हुने हुनाले यसमा पदाधिकारीहरुले निकै महत्वका साथ हेरिएको छ।

एसियाली फुटबल महासंघ एएफसीको टोलीले बिहीबार खेलकुद परिषदका सदस्य सचिवसंग भेट्ने कार्यक्रम छ।

यदि सहमती भए तीन पक्षको संयुक्त विज्ञप्ती जारी गर्ने एएफसीको योजना रहेको बताइएको छ।