‘अर्को देशको कमजोरीको फाइदा नलिउं’

  • 24 मार्च 2016
तस्वीर कपीराइट EPA

प्रधानमन्त्री केपी ओलीले एक मुलुकले अर्कोको कमजोरीको फाइदा उठाउन नसक्ने सहकार्यको खाकामा एसिया अघि बढ्नुपर्ने बताएका छन्।

बिहीबार बोआओ फोरमलाई सम्बोधन गर्दै उनले विचारहरुको खुला प्रवाह, अवरोधविहीन व्यापार सम्पर्क तथा सबै पक्षको जित हुने उदाहरणसहितको सहकार्यको प्रारुप सिर्जना गरिनुपर्नेमा जोड दिएका हुन्।

एसियाको कुनै मुलुक पछाडि परे यो क्षेत्रको भविष्य र शान्ति तथा समृद्धिको सपना पूरा हुन नसक्ने धारणा ओलीले राखे।

उनले गरीबि र शान्ति संगसंगै जान नसक्ने उल्लेख गर्दै एसियाका सबै मुलुक समावेश हुने खालको विकास खाकामा यो क्षेत्र अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रम

त्यहां रहंदा प्रधानमन्त्री ओलीले बिहीबारै नान्सान पार्कस्थित नेपाल ‘पभेलियन’को अवलोकन पनि गर्ने कार्यक्रम छ।

त्यसपछि उनी सियानका लागि उड्नेछन्।

सियानमा शुक्रबार उनले त्यहांको चिकित्सा विश्वविद्यालयको भ्रमण गर्नुका साथै लगानी गोष्ठीलाई पनि सम्बोधन गर्नेछन्।

शुक्रबारै चेङ्दु उड्ने उनले त्यसको भोलिपल्ट वेनचुवानस्थित भूकम्प पुनर्निर्माण स्थलको अवलोकन गर्नेछन्।

ओली आइतबार स्वदेश फर्कनेछन्।