नेपाल-चीन सम्बन्धप्रति भारतीय दृष्टि

  • 24 मार्च 2016

महेश आचार्य,

बीबीसी नेपाली, बेइजींग

तस्वीर कपीराइट Reuters

नेपाल र चीनबीचको दुईपक्षीय सम्बन्धको चर्चा हुँदा पनि प्रायजसो दक्षिणी छिमेकी भारत जोडदार रुपमा जोडिएर आएको देखिन्छ।

भारतबाहेकको मुलुकबाट पहिलोपटक पारवहन अधिकार लिने सम्झौता भएको प्रधानमन्त्री केपी ओलीको यसपालिको चीन भ्रमण त्यसबाट अछुतो रहेन।

ओलीको भ्रमणपूर्व र बेइजिङ बसाइको अवधिमा भारतीय चासोका कोणहरुबाट विभिन्न चर्चाहरु भएकामात्रै होइनन् स्वयम् चिनियाँ राष्ट्रपतिले भारतीय प्रसंग खुलेरै उप्काए।

नेपालले चीनसँग सम्बन्ध अलिकति विस्तार गर्दा पनि उतैतिर लहसिएको ठान्ने प्रवृत्तिबाट दिल्ली अझै मुक्त हुन नसकेको टिप्पणीहरु प्रशस्तै हुने गर्छन्।

आलोचना

तस्वीर कपीराइट Reuters

अप्ठ्यारो पर्दामात्रै चीनलाई सम्झने गरेको भन्दै नेपाली पक्षको पनि आलोचना नभएका होइनन्।

तर बेलाबेलामा नेपालले, चलनचल्तीकै भाषामा भन्दा चीन कार्ड, दिल्लीविरुद्ध प्रयोग गर्ने गरेको सोच गहिरो रुपमा भारतीय पक्षमा जरा गाडेर बसेको देखिन्छ।

तथापि दिल्लीको त्यो बुझाइलाई सांघुरो सोचको उपज र अहिलेको बदलिंदो विश्व परिस्थितिमा क्षेत्रीय सन्तुलनमा आएको बदलावको वास्तविकतालाई आत्मासात गर्न हिच्किचाएको रुपमा कतिपय दर्शाउँछन्।

विश्वमञ्चमै आफ्नो आर्थिक र राजनीतिक हैसियत विस्तार गर्दै गएको चीनको प्रभाव उसको छिमेकमा बलशाली हुंदै जानुलाई कमैले मात्रै अनौठो मान्छन्।

तर भारतले एकातिर चीनको हरेक कदमलाई उसको परम्परागत प्रभावक्षेत्रमा प्रतिस्पर्धाको कडीको रुपमा आशंका गर्ने गरेको देखिन्छ भने अर्कोतिर बेइजिङसँग आर्थिक, कूटनीतिक लगायतका सम्बन्ध घनिभूत पार्दै लगेको पनि प्रष्ट झल्कन्छ।

यो विरोधाभासमा दिल्ली रुमल्लिरहँदा बेइजिङ पनि नेपाल लगायतका छिमेकी देशमा आफ्नो कदमले भारत अनावश्यक रुपमा सशंकित नबनोस् भन्नेमा सचेत जस्तो देखिन्छ।

सहकार्य

तस्वीर कपीराइट MEA

सायद त्यसैले पनि हुनुपर्छ चिनियाँ राष्ट्रपति सी जिंग पिंग स्वयमले प्रधानमन्त्री ओलीसंगको भेटवार्तामा प्रष्ट रुपमै भारतको प्रसंग जोडे।

नेपाल मामिलामा बेइजिङ र दिल्लीले निकटरुपमा सहकार्य गरेकोतर्फ संकेत गर्दै उनले नेपालको स्थायित्व र विकास दुवै देशको साझा स्वार्थ भएको टिप्पणी गरे।

चिनियाँ विदेशमन्त्रालयको वक्तव्य अनुसार, राष्ट्रपति सीले नेपालले भारत र चीन दुवैको विकासबाट फाइदा लिने अपेक्षा मात्रै गरेनन् नेपाल यी दुई विशाल अर्थतन्त्रबीच पुल बन्नसक्ने निचोडसमेत निकाले।

त्यस्ता निचोडलाई चिनियाँ प्राध्यापक हु सिसेंग नेपाल मामिलामा चीनले भारतको संवेदनशीलता र चासोलाई विचार गर्ने गरेको रुपमा व्याख्या गर्छन्।

तर भारतीय विश्लेषक सी राजामोहन आफ्नो पछिल्लो पुस्तक ‘मोदीज् वर्ल्ड’मा लेख्छन्, बेइजिंग दक्षिण एसियामा आफूलाई दिल्लीको प्रतिस्पर्धीको रुपमा हेर्दैन बरु महाशक्तिका रुपमा हेर्छ जो यो क्षेत्रका सबैसँग सम्बन्ध राख्न चाहन्छ।

व्याख्या फरकफरक देखिएपनि दुवै पक्षमा एउटा समान बुझाइ भने पाइन्छ, त्यो के भने बेइजिङ र दिल्लीले एकअर्काको प्रभाव अस्वीकार गरिरहन सक्दैनन् र नेपाल लगायतका मुलुकमा सहकार्य नै दुवैका लागि बराबर जीत हुनेछ।