पुनर्निर्माणको पर्खाईमा हजारौं कक्षाकोठा

  • 24 मार्च 2016
तस्वीर कपीराइट UNICEF

भूकम्पका कारण क्षतिग्रस्त विद्यालयका हजारौं कक्षाकोठाहरुको पुनर्निर्माण कार्य शुरु हुन नसक्दा प्रभावित जिल्लाहरुमा यस वर्षको पठनपाठनमा गम्भीर असर परेको अधिकारीहरुले बताएका छन्।

शिक्षा विभागका अनुसार केही कक्षाकोठाका लागि बल्ल नक्सा पास भएका छन् भने केहीको हकमा बोलपत्र आह्वान गरिएको छ।

कक्षाकोठाहरु पुनर्निर्माण नहुँदा लामो समयसम्म अस्थायी सिकाई केन्द्रहरुमा कक्षा सञ्चालन गरिराख्नु चुनौतीपूर्ण भएको शिक्षकहरु बताउँछन्।

सिन्धुपाल्चोकको चौतारास्थित कृष्णरत्न उच्च माध्यमिक विद्यालयका प्राध्यानाध्यापक राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, “यो वर्ष त जेनतेन बित्यो, अब अर्को नयाँ शैक्षिकसत्र शुरु हुन बाँकी छ, नयाँ शैक्षिक सत्रमा पनि विद्यार्थीहरु घामपानीमा बस्नुपर्ने, हुरीबतासबाट डराउनुपर्ने परिस्थितिको सिर्जना भएको छ, यसकारण कक्षाकोठामा सिकाईको वातावरण अत्यन्तै कष्टकर बन्दै गइरहेको स्थिति छ।”

समस्या

श्रेष्ठले जस्तै भूकम्पका कारण क्षतिग्रस्त सयौं विद्यालयका शिक्षकहरुले यस्तो समस्या झेल्दै आएका छन्।

नेपाल भ्रमणमा आएका ब्रिटिश राजकुमार ह्यारीले एक हिमाली जिल्लाको विद्यालय पुनर्निर्माणमा सहयोग गर्ने भन्दै आफ्नो बसाई एक साता लम्ब्याए।

देशभरमा त्यस्ता सहयोग पर्खेर बसेका सयौँ विद्यालयहरु छन्।

सरकारी तथ्यांक अनुसार गत वैशाख र जेठ महिनामा गएका भूकम्पका कारण आंशिक र पूर्णरुपमा गरी झण्डै ५० हजार कक्षाकोठाहरु क्षतिग्रस्त भएका छन्।

शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेको बताउने सरकारले क्षतिग्रस्त ती कक्षाकोठाहरुको पुनर्निर्माण कार्य अझै शुरु गर्न सकेको छैन।

भूकम्प गएको झण्डै एक वर्ष हुन लाग्दा आखिर हालसम्म भएको चाहिँ के छ त?

जवाफमा शिक्षा विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर झपर सिंह विश्वकर्मा भन्छन्, “काभ्रे र ललितपुरमा भर्खरै टेण्डर आह्वान भएको छ, चार पाँच दिनजति भयो, मैले बुझेअनुसार ३ वटा जति स्कूलहरु पहिलो लटमा गरिएको छ, यो शुरुवात हो, त्यस्तै अरु विस्तृत आयोजना प्रतिवेदन बन्दै जान्छ, स्कूलको संख्या पनि टेण्डर हुँदै जान्छ।”

सम्झौता

विभागका अनुसार क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि जापानी सहयोग नियोगसँग ११ करोड ७० लाख डलर र एसियाली विकास ब्यांकसँग ८ करोड ६५ लाख डलर बराबरको ऋण सम्झौता भएको छ।

जुन रकमबाट कम्तीमा १५०० वटा विद्यालयहरुको निर्माण गरिनेछ।

त्यसबाहेक करिब ४००० हजार कक्षाकोठा र शौचालय निर्माणका लागि विभाग र विभिन्न ८८ वटा संघसंस्थाबीच समझदारी भएको छ।

त्यसबारे थप जानकारी दिंदै विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर विश्वकर्माले भने, “यो दौरानमा उनीहरुले डिजाइन पारित गराइसकेका छन्, यो बीचमा सामानको अलिकति अभाव भएकोले रोकिएको थियो, अब काम बढ्दैछ।”

जानकारहरुका अनुसार खासगरी भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुमा विद्यार्थीहरुको उपस्थिति कम देखिएको छ।

त्यसमाथि कक्षाकोठाहरुको पुनर्निर्माणमा देखिएको ढिलाईले सरकारी विद्यालहरुको नतिजालाई थप कमजोर बनाउने निश्चित देखिन्छ।