ब्रसल्स हमलापछि प्रहरी कार्वाही जारी

  • 26 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption ब्रसल्समा कम्तीमा ३१ जनाको ज्यान जाने गरि भएको आक्रमणको ३ दिनपछि छापा मारिएको हो

ब्रसल्सको स्कार्बेक जिल्लास्थित एउटा घरमा प्रहरीले छापा मारेपछि एकजना मानिसलाई "निस्क्रिय" तुल्याईएको बेल्जियमका सञ्चार माध्यमले जनाएका छन्।

एकजना व्यक्तिलाई गोली हानिएको र उनी सामान्य घाईते भएको उक्त शहरका मेयरले बताएका छन्।

ती व्यक्तिलाई गिरफ्तार गरिएको छ।

छापा

ब्रसल्सको विमानस्थल र भूमीगत रेल स्शटेशनमा कम्तीमा ३१ जनाको ज्यान जानेगरी भएको आक्रमणको ३ दिनपछि त्यस्तो कार्वाही गरिएको मारिएको हो।

मंगलबार ब्रसल्समा भएको बम हमलापछि प्रहरीले थप हमला रोक्ने प्रयासलाई तीव्र पार्दा तीनवटा युरोपेली देशमा गरेर कुल १० जनालाई गिरफ्तार गरिएको छ।

ती मध्ये सातजनालाई ब्रसल्समा, दुईजनालाई जर्मनीमा र एकजनालाई प्यारिसमा गिरफ्तार गरिएको हो।

आरोप

बिहीबार प्यारिसमा गिरफ्तार गरिएका व्यक्तिको नाम रेडा क्रिकेट रहेको थाहा भएको छ।

फ्रान्सका आन्तरिक मामिलामन्त्रीका अनुसार फ्रान्समा आक्रमण गर्ने उनको योजना निकै अघि बढिसकेको थियो।

उनीमाथि प्यारिस आक्रमणका नेता अब्देलहमीद अबाउदसंगै ईस्लामिक स्टेटका लागि स्वयंसेवकहरु भर्ती गर्ने संजालको सदस्य भएको आरोप लागेको थियो।

सो आरोपमा गत वर्ष ब्रसल्सको एउटा अदालतले उनको अनुपस्थितिमा नै उनलाई दोषी ठहर्याएको थियो।

ऐक्यबद्धता

ब्रसल्सको भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री जन केरीले ईस्लामिक स्टेट भनिने समूहको विनाश हुने बताएका छन्।

बेल्जियमका प्रधानमन्त्री शाल मिशेलसंगै उभिएर उनले पीडितहरुप्रति समवेदना र बेल्जियमसंग ऐक्यबद्धता व्यक्त गरे।

आक्रमणकारीलाई रोक्न के गर्न सकिन्थ्यो भन्ने प्रश्नका साथ ब्रसल्समा भएको आक्रमणको राजनीतिक प्रतिप्रभावहरु देखिने क्रम जारी छ।

बेल्जियमका आन्तरिक मामिलामन्त्री र न्यायमन्त्रीले राजीनामा दिएको बताएका छन् भने प्रधानमन्त्रीले ती राजीनामा अस्वीकार गरेका छन्।