ब्रसल्स हमला: एकजनामाथि आतंकवादी हत्याको अभियोग

  • 26 मार्च 2016
तस्वीर कपीराइट Belgian Federal Police
Image caption सीसीटिभीमा देखिएका दुईजना आत्मघाती हमलाकारी र तेश्रो व्यक्ति फैसल भएको बताइएको छ

ब्रसल्समा भएको बम हमलाको अनुसन्धान गरिरहेका बेल्जियमका अभियोजनकर्ताले एकजना व्यक्तिमाथि आतंकवादी आक्रमणको आरोप लगाएका छन्।

गत मंगलबार ३१ जना मारिएको आत्मघाती उक्त घटनालाई लिएर अभियोग लगाइएका फैसल सीको पुरा नाम खुलाइएको छैन।

बिहिवार गिरफ्तार फैसलको घरमा प्रहरीले खानतलासी गरे पनि त्यहाँ कुनै हतियार भेटिएन।

पत्रकार

हमलाकारी नाजिम लाचरोवी र ब्राहीम एल बकरावीसंग विमानस्थलको सीसीटिभी क्यामेरामा देखिएका व्यक्ति फैसल भएको बेल्जियन संचार माध्यमहरुले अनुमान गरेका छन्।

उनीहरुले ती व्यक्ति फैसल शेफु नामका स्वतन्त्र पत्रकार भनेर पहिचान गरेका छन।

तर अभियोजनकर्ताले यो अनुमानलाई पुष्टि गरेका छैनन्।

तस्वीर कपीराइट Reuters

विमानस्थल र रेल स्टेशनमा बम हमला भएका थिए।

ब्रसल्स विमानस्थलमा भएको बम हमलापछि पहिलो पटक ईन्जिनियर र प्राविधिकले भवनमा पुगेको क्षतिको मुल्यांकन गर्नेछन्।

उडानहरु भने मार्च २९ देखि मात्रै पुनः संचालनमा आउने छन्।

सुरक्षा प्रश्न

सेना र सशस्त्र प्रहरीले उक्त क्षेत्रमा गस्ती गरिरहेका छन्।

हमला रोक्न के गर्न सकिन्थ्यो भन्ने प्रश्न अहिले बेल्जियमका अधिकारीहरुले सामना गरिरहेका छन्।

टर्कीले आक्रमणकारीका बारेमा बेल्जियमलाई पहिले नै दिएको चेतावनी खुलासा भएपछि बेल्जियमका दुईजना मन्त्रीले राजीनामा दिएका थिए तर प्रधानमन्त्रीद्वारा ती राजीनामा अस्वीकृत भएका थिए।

प्यारिस हमलाका संदिग्ध सलाह अब्देसलामलाई प्रहरीले ब्रसल्स हमलाकारी बक्रावी दाजुभाईको तस्वीर देखाएको थियो।

तर अब्देसलामले आफुले उनीहरुलाई नचिनेको बताएका छ्न्।

मंगलबारको आक्रमणपछि २६ वर्षीय अब्देसलामले मौन रहन पाउने हक प्रयोग गरेको बेल्जियमका न्यायमन्त्रीले बताए।

गस्ति

तस्वीर कपीराइट Reuters
Image caption सुरक्षा गस्तिका माझ मानिसहरु निडर देखिन्छन्

ब्रसल्समा बसहरु चलिरहेका छन् र प्रायः रेल स्टेशनहरु फेरी खुलेका छन्।

तर सडकमा अझै पनि सैनिकहरुले गस्ति गरिरहेका छन्।

मानिसहरु निडर देखिन्छन् तर अरु पनि सन्दिग्धहरु फरार छन् भन्ने कुरा उनीहरुलाई थाहा छ।

३१ जनाको ज्यान जानेगरी भएको उक्त हमलालाई रोक्न के गर्न सकिन्थ्यो भन्ने प्रश्न सोधिने क्रम जारी छ।