‘हमलाकारीको सञ्जाल ध्वस्त पारिंदै’

  • 26 मार्च 2016
प्यारिस तस्वीर कपीराइट Reuters
Image caption गत मंगलबारको ब्रसल्स आक्रमणपछि प्यारिसमा सुरक्षा कारवाही तीव्र बनाइएको छ।

फ्रान्सेली राष्ट्रपति फ्रांस्वा ओलान्दले ब्रसल्स र प्यारिसका आक्रमणमा संलग्न विद्रोहीहरुको सञ्जाललाई 'निमिट्यान्न' पार्न कारवाहीहरु भइरहेको बताएका छन्।

उनले फ्रान्सेली र बेल्जियन अधिकारीहरु आक्रमणप्रति जिम्मेवार संदिग्ध व्यक्तिहरुलाई पक्राउ गर्ने काममा सफल भइरहेको बताए।

तर ओलान्दले भने आतंकको खतरा अझै पनि टड्कारो रहेको छ।

“हामीलाई थाहा छ अरु सञ्जालहरु पनि सक्रिय छन्। प्यारिस र ब्रसल्स आक्रमणमा संलग्न विद्रोहीको सञ्जाल नष्ट गरिन थालिएको भएपनि अन्य खतराहरु यथावतै छन्।”

बेल्जियम प्रहरीको पछिल्लो कारबाहीको क्रममा दुई संदिग्ध व्यक्तिहरु गोली लागी घाइते भएका छन् भने तीन जना हिरासतमा छन्।

कारबाही

तस्वीर कपीराइट EPA
Image caption मंगलबारका घातक हमलापछि ब्रसल्समा सुरक्षाकर्मीहरुद्वारा संदिग्ध व्यक्तिहरुको खोजी तथा अनुसन्धान तीव्र छ।

एक भिडियो फुटेजमा हातहतियारले सुसज्जित प्रहरी अधिकृतहरुले बन्दुकको नाल सोझ्याउँदै एक घाइते व्यक्तिलाई खुट्टा टेकाएर घिसारिरहेको देखिएको छ।

बेल्जियमै अभियोजनकर्ताहरुले भनेका छन् प्यारिस आक्रमणमा जिम्मेवार ठानिएका संदिग्ध सलाह अब्देसलामले मंगलबारका ब्रसल्स हमलाबारे मुख खोलेका छैनन्।

उनलाई ती आक्रमणहरुबारे सोधिएपछि केही पनि नबोलेको बताइएको छ।

अभियोजनकर्ताहरुका अनुसार गत साता ब्रसल्समा पक्राउ परेका अब्देसलामले शुरुमा अनुसन्धानकर्तालाई सहयोग गरेको भएपनि मंगलबारको आक्रमणबारे अन्तरवार्ता गर्दा उनले आफ्नो “चुपचाप बस्न पाउने अधिकार” प्रयोग गरे।

३१ जनाको ज्यान जाने गरी भएको ब्रसल्स आक्रमणको केही दिनअघि उनलाई पक्राउ गरिएको थियो।