सिरियाली सहर पल्माइरा पुन: सेनाको कब्जामा

  • 27 मार्च 2016
तस्वीर कपीराइट AFP
Image caption आईएसले पल्माईरालाई कब्जा गरेको समयमा धेरैवटा प्राचीन संरचनाको विनाश गरेको थियो

सिरियाली शहर पल्माइरालाई सरकारी सेनाले फेरी कब्जा गरेपछि राष्ट्रपति बशर अल असदले यसको प्रशंसा गरेका छन्।

गत मे महिनामा ईस्लामिक स्टेट लडाकुले कब्जा गरेको प्राचीन खण्डहरहरु रहेको पल्माइरामाथिको विजयलाई उनले आतंकवादविरुद्धको महत्वपूर्ण उपलब्धि भनेका छन्।

सेनाका एकजना प्रतिनिधिले सिरियाको सरकारी टेलिभिजनलाई पल्माइरा पुन आफ्नो नियन्त्रणमा आउनुले इस्लामिक स्टेटको पतनको थालनीको संकेत दिएको बताएका छन्।

अवस्था

रुसी हवाइ हमलाको समर्थन रहेको सिरियाको सरकारी फौजले केही दिनदेखि उक्त क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको थियो।

सेना स्रोताले भनेको छ, उक्त क्षेत्र अब पूर्ण रुपमा आफ्नो नियन्त्रणमा छ।

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको उक्त शहरलाई सन् २०१५ कोको मे महिनामा इस्लामिक स्टेटले कब्जामा पारेको थियो।

सिरियाको सेनाले शनिबार सार्वजनिक गरेको दृश्यमा पल्माइरामा हेलिकप्टर र मसिनगनले हमला गरेको देखाइएको थियो।

उक्त दृश्यहरु कुन मितिमा लिइएको थियो भन्ने चाहिँ पुष्टी गरिएको छैन।

ब्रिटेनमा रहेको अनुगमनकारी समूह सिरियन अबजरभेटरी फर ह्युमन राइट्सले भनेको छ, सहरको पूर्वी क्षेत्रमा अझै गोलाबारी भइरहेको छ तर इस्लामिक स्टेटको ठूलो फौज भने शहरबाट निस्केर पुर्वतर्फ लागेको छ।

जित

शनिबार सार्वजनिक भएको एक विज्ञप्तिमा रुसको रक्षा मन्त्रालयले भनेको थियो, इस्लामिक स्टेटका १ सय ५८ निशानाहरुमा हमला भएको थियो, जसमा परेर १ सय भन्दा बढी लडाकुहरुले ज्यान गुमाएका छन्।

छिमेकी लेबनानमा रहेकी बीबीसीकी संवाददाता लिना सिन्जब भन्छिन्, पल्माइरालाई पुन कब्जामा लिनु राष्ट्रपति बसर अल असदका लागि ठूलो जित हो जो विश्वलाई आफू पनि आतंकवादविरुद्ध लड्ने व्यक्ति हुन् भनेर देखाउन चाहन्छन्।

रुसका युद्ध विमान र शिया मिलिसियाहरुको समर्थन रहेको सरकारी फौज, पल्माइरालगायत देशको ठूलो भूभागलाई आफ्नो कब्जामा लिने दिशामा नजिक छ।

यो जितसँगै राष्ट्रपति असदले शान्ति वार्तामा आफ्नो बलियो स्थान सुरक्षित बनाएका छन्।

उनी पक्कै पनि अब समस्याको समाधानकर्ताको रुपमा देखिएका छन् ।

तर धेरैले भने उनी नै समस्याको स्रोत भएको बताउँछन्।