स्याण्डर्स थप दुई राज्यमा विजयी

  • 27 मार्च 2016
तस्वीर कपीराइट AP

डेमोक्रेटिक पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी पाउने दौडमा रहेका बर्नी स्याण्डर्स थप दुई राज्यमा विजयी भएका छन्।

आफ्ना प्रतिद्वन्द्वी हिलरी क्लिन्टनसँगको दूरी कम गर्ने प्रयासमा रहेका स्याण्डर्सले वासिङ्टन राज्यका साथै अलास्कामा जीत हात पारेका हुन्।

वासिङटनमा स्याण्डर्सले ७६ प्रतिशत र क्लिन्टनले २४ प्रतिशत मत ल्याएको बताइएको छ।

युएस टीभी नेटवर्कका अनुसार अलास्कामा स्याण्डर्सले ७९ प्रतिशत मत प्राप्त गरेका छन् भने क्लिन्टनको पोल्टामा २१ प्रतिशत मत परेको छ।

नतिजा

तस्वीर कपीराइट Reuters

हवाईमा भएको पार्टीगत चुनावको नतिजा आउन बाँकी छ।

विजयी हुनेले १०१ जना प्रतिनिधि पाउने भएकोले वासिङटनको पार्टीगत निर्वाचनलाई महत्वका साथ हेरिएको थियो।

अलास्काबाट १६ र हवाईबाट २५ जना प्रतिनिधि हुनेछन्।

पछिल्लो जीतका बावजुद स्याण्डर्सले क्लिन्टनको अग्रतालाई कम गर्न संघर्षको सामना गरिरहेका छन्।

प्रतिनिधि

तस्वीर कपीराइट Reuters

१७ सय प्रतिनिधिको समर्थन प्राप्त गरिसकेकी क्लिन्टनले पार्टीको तर्फबाट उम्मेदवारी पाउन अब ७ सय प्रतिनिधिको मात्र साथ पाउनुपर्नेछ।

राष्ट्रपति पदका लागि पार्टीबाट उम्मेदवारी पाउनका निम्ति प्रत्याशीलाई २३८३ प्रतिनिधि आवश्यक हुन्छ।

मंगलबार हुने मतदानबाट स्याण्डर्सले आइडेहो र युटाहबाट जीत हात पार्न प्रत्यन गरिरहेका छन्।

एरिजोनामा भने उनले हार बेहोरेका छन्।