इजिप्टएअर विमान अपहरण घटनाको अन्त्य

  • 29 मार्च 2016
तस्वीर कपीराइट AP

साइप्रसको लार्नाका विमानस्थलमा अवतरण गर्न बाध्य पारिएको ईजिप्टएअरको एउटा विमान अपहरण प्रकरणको अन्त्य भएको छ।

बन्धक बनाइएका यात्रुहरु तथा चालक दलका सदस्यहरु सबै नै सकुशल मुक्त भएका छन् भने अपहरणकारीलाई तनावपूर्ण गिरफ्तार गरिएको छ।

ति अपहरणकारी आफ्नो हात हावामा उठाएर विमानबाट बाहिर निस्केका थिए र धावनमार्ग भएर अघि बढी आतंकवाद विरोधी सुरक्षासैन्य समक्ष आत्मसमर्पण गरेका थिए।

अपहरणमा परेको ईजिप्टएअर फ्लाईट एमएस १८१ नामको सो विमान अलेक्जाण्ड्रीयाबाट काएरो शहर तर्फको उडानमा थियो।

नियन्त्रण

सो विमानलाई एकजना यात्रुले आफूले विस्फोटक पदार्थ सहितको आत्मघाती पेटी बाँधेको भन्ने दावी गर्दै नियन्त्रणमा लिएका थिए।

र उनले सो विमानलाई साइप्रस तर्फ लग्न बाध्य तुल्याएका थिए।

इजिप्टएअरले ति अपहरणकारीसंग भएको भनिएको विस्फोटक पदार्थ नक्कली रहेको बताएको छ।

साइप्रसको विदेश मन्त्रालयले सामाजिक संजालको वेबसाइट ट्विटरमा भनेको छ, “यो प्रकरण सकियो। अपहरणकारीलाई गिरफ्तार गरिएको छ।”

विमान अपहरण गर्नका पछाडि अपहरणकारीको उद्देश्य के थियो भन्ने अहिलेसम्म स्पष्ट भएको छैन।

केही विवरणहरुमा अपहरणकारीले साईप्रसमा रहेकी आफ्नी अलग्ग‌िएकी पत्नीसंग कुरा गर्न चाहेको बताइएको छ।

साइप्रसका अधिकारीहरुले ति व्यक्ति मानसिक रुपमा अस्थीर रहेको र विमान अपहरण गर्नुका पछाडी उनको कुनै राजनीतिक उद्देश्य नरहेको बताएका छन्।

तस्वीर कपीराइट Reuters

यो घटनाले अब इजिप्टका विमानस्थलहरुको सुरक्षा व्यवस्थामाथि सबैको ध्यान केन्द्रीत हुन जानेछ।

गत बर्ष शर्म अलशेख बाट उडेको केहि समयपछि नै एउटा रुसी यात्रुवाहक विमान बम विस्फोटनका कारण नष्ट हुंदा दुईसयजना भन्दा बढीको मृत्यु भएको थियो।