अपहरित विमानका अधिकांश यात्रु रिहा

  • 29 मार्च 2016
इजिप्टएयरको एक विमान तस्वीर कपीराइट AFP
Image caption कम्तीमा एक हतियारधारीले नियन्त्रणमा लिएको विमान साइप्रसमा अवतरण भएका विवरण प्राप्त भएका छन्।

अपहरणमा परेपछि बाध्य भएर साइप्रसको लारनाकामा अवतरण गराइएको इजिप्टएअरको विमानमा सवारमध्ये अधिकांश यात्रुहरुलाई रिहा गरिएको जनाइएको छ।

इजिप्टएअरले वार्ताहरुपछि सो एमएस १८१ विमानका चालकदलका सदस्य र चार यात्रु बाहेक सबै रिहा भएको बताएको छ।

लारनाका विमानस्थलमा खिचिएको भिडियोमा पनि केहि यात्रुहरु विमानबाट अर्लेर बसमा चढिरहेको दृश्य देख्न सकिन्छ।

एक जना यात्रुले विस्फोटक पदार्थ सहितको पेटी लगाएको धम्की दिएपछि विमान अपहरणमा परेको थियो।

कारण

वायुसेवा र इजिप्टेली अधिकारीहरुलाई उद्धृत गर्दै आएका समाचारहरुमा जनाइएअनुसार सो विमान इजिप्टको आन्तरिक उडानमा अलेक्जेन्ड्रियाबाट काइरोका लागि उडेको थियो।

उडे लगत्तै एमएस१८१, एअरबस ए३२० विमानलाई कम्तीमा एक हतियारधारी अपहरणकारीले नियन्त्रणमा लिएको बताइएको छ।

उडानलाई नियन्त्रणमा लिएपछि अपहरणकारीले सो उडानलाई साइप्रसमा अवतरण गर्न भनेको इजिप्टएयरकी एक प्रवक्ताले बताइन्।

साइप्रसका संचारमाध्यमले एक जना व्यक्तिमात्र उक्त अपहरणमा संलग्न भएको र त्यसको कारण व्यक्तिगत हुनसक्ने जनाएका छन्।

अपहरणकारीले शरण खोजीरहेको हुनसक्ने बताइएपनि यसको स्वतन्त्र पुष्टि भएको छैन्।

अपहरित विमान अवतरण भएपछि साइप्रसको दक्षिणी तटमा रहेको लारनाका विमानस्थल बन्द गरिएको छ।

शुरुमा उक्त विमानमा ३० इजिप्टेली सहित ८० जना यात्रु सवार रहेका विवरणहरु सार्वजनिक भएका थिए।

तर पछिल्लो विवरणमा विमानमा आठ अमेरिकी, चार ब्रिटिश, दुई बेल्जियन, एक इटलियन, चार डच र ३० जना इजिप्टका नागरिक रहेको जनाइएको छ।