'जेकब जुमाले संविधान उल्लंघन गरे': अदालत

  • 31 मार्च 2016
तस्वीर कपीराइट

दक्षिण अफ्रीकाको संवैधानिक अदालतले राष्ट्रपति जेकब जुमालाई उनको नीजी घरबारीको स्तरोन्नती गर्न सरकारी पैसा प्रयोग गरेको भनी आलोचना गरेको छ।

न्यायाधिशहरुले त्यसरी खर्च गरिएको मध्ये केहि पैसा फिर्ता गर्न राष्ट्रपतिलाई आदेश दिएका छन्। सरकारका एकजना प्रवक्ताले राष्ट्रपतिले अदालतको फैसलाको सम्मान गर्ने बताएका छन्।

राष्ट्रपतिले कति पैसा तिर्नु पर्ने हो त्यो निर्धारण गर्न अर्थमन्त्रालयलाई अदालते ६० दिनको समय दिएको छ।

महाभियोग

यो फैसलालाई विपक्षले विजयका रुपमा लिएको छ र अब राष्ट्रपति जुमालाई महाभियोग लगाउने तर्फ अघि बढ्ने बताएको छ।

विपक्षको आरोप अनुसार उनले गलत तरीकाले हासिल गरेको पैसाबाट आफ्नो घरमा मर्मत सम्भार गर्न र त्यसमा एउटा पौडी पोखरी र सानो रंगशाला समेत बनाएका थिए।

राष्ट्रपति जुमाले आफूले कुनै गलत काम नगरेको बताएका छन्।

तस्वीर कपीराइट

एउटा सरकारी वक्तव्यमा राष्ट्रपतिले अदालतको फैसलामाथि 'विचार' गर्ने र 'उपयुक्त' कदम चाल्ने बताइएको छ।

देशको एउटा भ्रष्टाचार विरोधी निकायले सन् २०१४ मा गरेको फैसलामा दक्षिण अफ्रीकाको क्वाजुलु नाटाल प्रान्तस्थित राष्ट्रपतिको गाउंको घरको मर्मत संभार र सजावटका लागि दुई करोड तीस लाख डलर खर्च गरिएको उल्लेख थियो।

फिर्ता

उक्त निकायले राष्ट्रपतिको घरमा गरिएको मर्मत कार्यबाट उनले गलत ढंगले फाइदा लिएका र उनले त्यसरी खर्च भएको केहि रकम फिर्ता गर्नु पर्ने बताएको थियो।

संवैधानिक अदालतका ११ जना न्यायाधिशहरुको संयुक्त प्रतिनिधित्व गर्दै प्रधान न्यायाधिशले उक्त सर्वसम्मत फैसला सुनाएका हुन्।

उनले भ्रष्टाचार विरोधी निकायले भ्रष्टाचार विरुद्ध ठूलो संघर्ष गर्नु परेको बताए।

तस्वीर कपीराइट EPA

प्रधानन्यायाधिशले उक्त निकायको निर्देशन अनुसार राष्ट्रपतिले पैसा फिर्ता नगर्नु संविधान विपरित भएको बताएका छन्।

राष्ट्रपति विरुद्धको मुद्दा दुई वटा विपक्षी पार्टी, इएफएफ र डीए ले दायर गरेका थिए।

इएफएफ ले राष्ट्रपति जुमालाई राजीनामा दिन आह्वान गरेको छ भने डीए ले राष्ट्रपति विरुद्ध महाभियोग लगाउन संसदमा प्रस्ताव दर्ता गराउने बताएको छ।