उत्तर कोरियाबारे मिलेर काम गर्ने सहमति

  • 1 एप्रिल 2016
तस्वीर कपीराइट .

वासिङटनमा जारी पारमाणविक सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय शिखर सम्मेलनको सुरुवाती चरण उत्तर कोरियामाथि केन्द्रित भएको छ।

चिनियां समकक्षी सी जिनपिङसंग भेटेपछि अमेरिकी राष्ट्रपति बराक ओबामाले दुवै नेता कोरियाली प्रायद्वीपलाई परमाणु मुक्त बनाउन र प्योंयांगविरुद्ध थप प्रतिवन्धहरु लागू गर्न प्रतिवद्ध रहेको बताए।

उत्तर कोरियाको परमाणु हतियार र उसको क्षेप्यास्त्र प्रविधीका बारेमा चिन्ताहरु व्यक्त भईरहँदा दुई नेताको त्यस्तो भनाई आएको छ।

ओबामाले यसअघि जापान र दक्षिण कोरियाका नेताहरुसंग भेटेर साझा धारणा बनाउने विषयमा छलफल गरेका थिए।

प्रतिवद्ध

राष्ट्रपति ओबामाले उनी र राष्ट्रपति सी दुवै कोरियाली प्रायद्धीपलाई परमाणु हतियारबाट अलग गर्न र हालै प्योंगयांगमाथि दबाब दिने उद्देश्यले लगाइएका ताजा प्रतिबन्धहरु कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताए।

तस्वीर कपीराइट AP

राष्ट्रपति सीले चाँहि चीनले सो विषयमा सम्वाद र समन्वय बढाउन चाहेको र वर्षमा एक पटक भेटेर नै परमाणु सुरक्षाबारे छलफल गर्न दुई देश सहमत भएको जनाए।

परमाणु हतियार निर्माणमा प्रयोग हुने सामाग्रीको अवैध ओसारपोसार रोक्न मिलेर काम गर्ने र त्यस्ता सामाग्रीहरु आतंकवादी समूहका हातमा पर्न नदिन सामूहिक प्रयास गर्न दुवै नेताले प्रतिवद्धता जनाए।

यसअघि ओबामाले कोरियाली प्रायद्वीपको सुरक्षाका विषय बारे साझा अवधारणा निर्माण गर्न जापान र दक्षिण कोरियाका नेताहरुसँग भेटेका थिए।

चुनौती

तर पछिल्लो छलफलमा खट्किएको मुख्य विषय भनेको रुसी राष्ट्रपति भ्लादिमिर पुटीनको अनुपस्थिति रहेको छ।

विश्व भरका परमाणु हतियार मध्ये ९० प्रतिशत रुस र अमेरिकासँग छन्।

वासिङटनमा भएको उच्चस्तरीय छलफलमा भाग लिन मस्कोले अस्वीकार गरेपछि उक्त विषयमा कुनै पनि समझदारी निर्माण गर्न वाधा पुगेको देखिन्छ।