शरणार्थीहरुको अवस्था सुधार्न आह्वान

  • 1 एप्रिल 2016
तस्वीर कपीराइट AFP
Image caption युएनएचसीआरले सिरिया र टर्कीबीच गम्भीर समस्या रहेको बताएको छ

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्थाले ग्रीस र टर्कीलाई शरणार्थीहरुको अवस्था सुधारका लागि आह्वान गरेको छ।

अर्को साताबाट आप्रवासी सम्झौता लागू हुनु अघि उक्त संस्थाले यस्तो आह्वान गरेको हो।

ग्रीसको द्वीप लेसबोसमा शरणार्थीहरु पर्याप्त खाना बिना खुल्ला ठाउँमा सुतिरहेको उसले बताएको छ।

अवस्था

ग्रीसका शिविरहरुमा आप्रवासीबीच नै झगडा भइरहेको विषयलाई यूएनएचसीआर ले आफ्नो जानकारीमा लिएको बताएको छ।

काओसको द्वीपमा सिरियाली र अफगानी शरणार्थीबीच लडाइँ हुँदा तीनजनालाई अस्पताल पुर्याइएको ग्रीसका सञ्चार माध्यमले बताएका छन्।

त्यहाँ आइपुगेका शरणार्थीहरुलाई उनीहरुको अवस्थाबारे जानकारी लिन समुद्री किनारबाट सिधै नजिकैको बन्द शिविरहरुमा लगिँदैछ।

ती शरणार्थीहरु आफूहरुलाई शिविरमा थुनिएकोप्रति दुखित छन् र उनीहरुले के भइरहेको छ भन्ने केही जानकारी नभएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी संस्थाले भनेको छ, शरण खोजिरहेकाहरुलाई शिविरमा थुन्नु भनेको अन्तिम अस्त्रमात्रै हुन सक्छ।

तर डुंगाबाट आएका ती आप्रबासीलाई बन्द शिविरमा लगिएको छ। त्यसरी लगिएकामा महिला, बालबालिका र वृद्धवृद्धाहरु छन्।

तिक्तता

लेसबोसमा उनीहरु बसिरहेको ठाउँमा पनि निकै घुईंचो भएको छ। त्यहाँ रहेका मानिसहरुले आफू खुल्ला ठाउँमा बसिरहेको बताएका छन्।

यूएनएचसीआरले उनीहरुलाई खानेकुरा पर्याप्त नभएको बताएको छ।

र, त्यहाँ सिरिया र इराकको हिंसाबाट भागेर आएका परिवारहरुबीच स्पष्ट रुपमा तिक्तता देखिएको छ कि उनीहरुलाई फेरी टर्की पठाइनसक्छ।

बिहीबार राति सेयमसमा मानिसहरुबीच लडाइ हुँदा ३ जनालाई छुरा हानिएको थियो।

यस्तो हुँदा हुँदै पनि डुंगाबाट नयाँ शरणार्थीहरु त्यहाँ पुगिरहेका छन्।

उनीहरुलाई थाहा छ कि युरोपका लागि उनीहरुको जाने बाटो अब बन्द हुनसक्छ।

तर कुनै पनि हालतमा उनीहरु त्यहाँ जाने कोशिश गरिरहेका छन्।