युद्धविराम गर्न रुसी राष्ट्रपतिको आह्वान

  • 2 एप्रिल 2016
तस्वीर कपीराइट Reuters
Image caption गत महिना पनि यस्तै खालको हिंसाका खबरहरु आएका थिए

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नगोरनो क्याराबाखको विवादास्पद क्षेत्रमा भीडन्त भएपछि लडाइँ अन्त्य गर्न आह्वान गरेका छन्।

अजरबैजानले भनेको छ, उक्त भीडन्तमा परि उसका १२ जना सेनाहरुको ज्यान गएको छ भने हेलिकप्टर ध्वस्त पारिएको छ।

टेलिभिजनमा देखाइएका दृश्यहरुमा गोलाबारीपछि त्यहाँ गाडीहरु जलेको र ठूलो ठूलो आगोको मुस्लो निस्किएको देखिएको छ।

आरोप

अजरबैजान र अरमेनिया दुबैले लडाईँ सुरु गरेको आरोप एक अर्कालाई लगाएका छन्।

सन् १९९४ मा युद्ध अन्त्य भएसँगै नगोरनो क्याराबाख, अरमेनियाको जातीय पृथकतावादीको हातमा पुगेको छ।

अर्मेनियाको समर्थनप्राप्त क्याराबाखबाट ठूलो क्षमताको तोप र ग्रीनेड आक्रमण भएपछि जवाफी कारवाही गरेको अजरबैजानले बताएको छ।

अरमेनियाको सरकारले भनेको छ, अजरबैजानले सुरुमा ट्यांक, तोप र हेलिकप्टरहरुबाट लडाईँ सुरु गरेको थियो।

आह्वान

अरमेनिया र अजरबैजान दुबैलाई हतियार विक्रि गर्ने रुसले तत्कालै युद्धविराम गर्न र संयम रहन आह्वान गरेको छ।

रक्षामन्त्री शरगेइ शोयगुले अरमेनिया र अजरबैजानका समकक्षीहरुसँग टेलिफोनमा कुराकानी गरेको समाचार संस्था इन्टरफ्याक्सले लेखेको थियो।

सन् १९८० को अन्त्यतिर यी दुबैपक्षबीच लडाइँ सुरु भएको हो। जसले सन् १९९१ मा सोभियत संघ विघटन हुनेबेलासम्ममा युद्धलाई निकै बढाइसकेको थियो र त्यसमा परि करिब ३० हजार मानिसको ज्यान गएको थियो।

नगोरनो क्याराबाख क्षेत्रलाई अरमेनियाको पृथकतावादी समूहले नियन्त्रणमा राखेको छ। यी दुबैबीच झडपहरु नियमित रुपमा भइरहन्छन्।