अजरबैजानद्वारा एकतर्फी युद्धविराम घोषणा

  • 3 एप्रिल 2016
तस्वीर कपीराइट Getty
Image caption दुबै पक्षले युद्धविराम भंग गरेको आरोप एकअर्कालाई लगाएका छन्

विवादित नगोर्नो क्यारबाख क्षेत्रसम्बन्धी आर्मेनियाली सेनासंगको द्वन्द्वमा अजरबैजानले एकतर्फी युद्धविरामको घोषणा गरेको छ।

रक्षा मन्त्रालयका एकजना प्रवक्ताले हिंसा अन्त्य गर्नुपर्ने अन्तर्राष्ट्रिय अनुरोधका कारण अजरबाईजानले यो कदम लिएको बताएका छन्।

तर आर्मेनियाको समर्थन प्राप्त क्यारबाखका लडाकुले भने अजरबैजानले अझै पनि हमला गरिरहेको बताएको छ।

जारी

नगोर्नो क्यारबाख क्षेत्रबारे शुरु भएको एउटा भिडन्तले ३० जना सैनिक र केही सर्वसाधारणको ज्यान लिएको छ र आईतबारसम्म उक्त भीडन्त जारी छ।

अजरबैजानले सद्भाव देखाउँदै एकतर्फी रुपमा युद्धविराम गर्ने निर्णय गरेको अजेरी रक्षा मन्त्रालयले एउटा वक्तव्यमा बताएको छ।

तर आफ्ना सेनामाथि आक्रमण गरिएमा त्यसको बदला लिने चेतावनी पनि उक्त वक्तव्यमा दिईएको छ।

तर क्यारबाख लडाकुका एकजना प्रवक्ता डेभिड बाबयानले भिडन्त नरोकिएको एएफपी समाचार संस्थालाई बताएका छन्।

शनिबार आर्मेनियाली मुलका १८ जना लडाकुको मृत्यु भएको आर्मेनियाले बताएको थियो भने अजरबैजानले १२ जना सैनिक गुमाएको बताएको थियो।

दुबै पक्षले एकअर्कालाई युद्धविराम भंग गरेको आरोप लगाएका छन्।

टिब्लिसिमा रहेकी बीबीसी संवाददाता रेहान दिमित्रीका अनुसार अधिक सैनिकीकरण भएका र आधुनिक हातहातियारका धनी यी दुई देश बीचको दुश्मनी नियन्त्रण बाहिर जान सक्ने चिन्ता धेरै अगाडि देखि रहेको थियो।

आरोप

यो भन्दा अगाडि टर्कीका राष्ट्रपति रेजेप टायिप एर्दोआनले भिडन्तमा अन्त्यसम्म अजरबाईजानलाई समर्थन गर्ने बताएका थिए।

सन् १९९४ मा अन्त्य भएको एउटा युद्धपछि अजरबैजानभित्र रहेको नगोर्नो क्यारबाख क्षेत्र आर्मेनियाली मूलका पृथकतावादीको नियन्त्रणमा छ।

सन् १९८० को दशकमा आर्मेनिया र अजरबाईजानको द्वन्द शुरु भएको थियो जसले सन् १९९१ मा ठुलो युद्धको रुप लिएको थियो।

युद्धमा ३० हजार भन्दा बढीको मृत्यु भईसकेपछि सन् १९९४ मा युद्धविराम भएको थियो।

त्यसपछि आर्मेनियाको आर्थिक र सैनिक सहयोगमा नगोर्नो क्यारबाख क्षेत्रलाई आर्मेनियाली मूलका पृथबतावादीले नियन्त्रण गरि आएका छन् तर बेला बेलामा दुई पक्ष बीच भिडन्त भईरहन्छन्।

बीबीसी अजेरीकी कोनुल खालिलोभाका अनुसार शान्तिको लागि प्रयास गर्नुको सट्टा सत्तामा रहिरहन द्वन्द्वलाई प्रोत्साहन दिएको आरोप दुबै पक्षका नेतामाथि लागेको छ।