प्रतिबन्धित औषधि प्रयोगबारे छानबिनको आदेश

  • 3 एप्रिल 2016

ब्रिटिश सरकारले फुटबल र अन्य खेलका खेलाडीहरुले प्रतिबन्धित औषधि प्रयोग गरेको नयाँ आरोपबारे छानबिन गर्न आदेश दिएको छ।

ब्रिटिश खेलकुदमा प्रतिबन्धित औषधिको प्रयोगबारे नयाँ आरोपहरु सार्वजनिक भएपछि सरकारले छानबिनको आदेश दिएको हो।

सन्डे टाइम्स पत्रिकाले गरेको एउटा अनुसन्धानले प्रदर्शन क्षमता बढाउनका निम्ति प्रतिबन्धित औषधिका लागि लण्डनस्थित एकजना निजी डाक्टरले प्रिमियर लिग फुटबलका, टेनिसका, साइकल दौडका खेलाडी र क्रिकेटरहरुबाट हजारौं डलर लिएको दाबी गरेको छ।

उक्त पत्रिकाले डाक्टर मार्क बोनारले पछिल्ला ६ वर्षमा १५० जना खेलाडीलाई ईपीओ, स्ट्रेरोइड र मानव शरीरमा वृद्धि हुने हर्मोन जस्ता पदार्थ लिन सुझाव दिने गरेको गोप्यरुपमा भिडियो खिचेको बताएको छ।

प्रमाण

तस्वीर कपीराइट AFP

प्रिमियर लिगको कुनैपनि क्लबलाई त्यसबारे जानकारी नभएको बताइएको छ।

सन्डे टाइम्सले डाक्टर बोनारले खेलाडीहरुको उपचार गरेको स्वतन्त्र प्रमाण नभएको बताएको छ।

सो पत्रिकाको दाबी अस्वीकार गर्दै डाक्टर बोनारले प्रतिबन्धित औषधि प्रयोगका लागि नभई आफूले खेलाडीहरुको उपचारमात्र गरेको बताएका छन्।

खेलाडीहरुलाई सन्डे टाइम्सले सम्पर्क गर्दा उनीहरुले प्रतिबन्धित औषधि प्रयोगबारेको आरोप कि त अस्वीकार गरेका छन् कि त डाक्टर बोनारबाट उपचार नगराएको बताएका छन्।

प्रतिबन्धित औषधि प्रयोगविरुद्धको ब्रिटिश निकायले उक्त आरोपबाट आफू स्तब्ध भएको भन्दै डाक्टर बोनारमाथि अनुसन्धान गर्नु आफ्नो क्षेत्राधिकार बाहिरको विषय भएको बताएको छ।