कांग्रेसमा दलको नेता चयन गर्न प्रक्रिया सुरु

  • 4 एप्रिल 2016
तस्वीर कपीराइट .
Image caption विधान संशोधनको विषयमा सुरुमा विवाद देखिए पनि अन्तत: देउवा र पौडेल पक्षबीच सहमतिका आधारमै टुंग्याइएको हो

नेपाली काँग्रेसको संसदीय दलको विधान संशोधन भए सँगै संसदीय दलको नेता निर्वाचनको प्रक्रिया शुरु भएको छ।

निर्वाचन तालिका अनुसार २४ गते दलको नेता र २६ गते संसदीय दलको कार्यसमिति सदस्यहरुको निर्वाचन हुनेछ।

संशोधित विधानमा प्रदेशहरु सम्बन्धी प्रावधान राखिएको र थप समावेशी बनाइएको बताइएको छ।

प्रक्रिया

संसदीय दलको नेताको निर्वाचनको विषयलाई लिएर पार्टी भित्रका दुई पक्षबीच देखिएको विवाद सुल्झाउँदै संसदीय दलको विधान संशोधन भएको हो।

संसदीय दलको कार्य समितिमा पाँच विकास क्षेत्रबाट सदस्य रहने पुरानो व्यवस्थालाई परिवर्तन गरेर सात प्रदेशबाट सातजना रहने नयाँ व्यवस्था गरिएको छ।

त्यस्तै समावेशी कोटामा पनि केही थपिएको संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए।

उनले भने, "मुस्लिम र थारुलाई पनि थपिएको छ। त्यस्तै महिलाको संख्या पनि बढाएर १५ जना निर्वाचित हुने व्यवस्था बनाइएको छ।"

संसदीय दलको नेताले मनोनयन गर्ने कार्यसमिति सदस्यहरुको संख्या पनि विगतमा रहेको ६ जनाबाट बढाएर ९ जना पुर्याइएको छ।

मनोनितमा पनि समानुपातिक समावेशीतालाई ध्यान दिइएको प्रमुख सचेतक श्रेष्ठले बताए।

प्रतिस्पर्धी

नयाँ व्यवस्था अनुसार संसदीय दलको नेता र कार्यसमिति सदस्यमा समानुपातिक समावेशी तर्फको १५ जना र प्रदेशबाट प्रतिनिधित्व गर्ने ७ जनाको निर्वाचन प्रक्रिया सोमबारदेखि शुरु गरिएको निर्वाचन समितिका सदस्य गुरुराज घिमिरेले बताए।

उनले भने, "मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरि सकेका छौं, मंगलबार उम्मेद्वारी दिने र बुधवार निर्वाचन गर्ने समय तोकेका छौं।"

सदस्यहरुको निर्वाचन भने २६ गते गर्ने गरि तालिका बनाइएको बताइएको छ।

संसदीय दलको नेताको निर्वाचनमा पार्टी सभापति पदका लागि निर्वाचनमा उत्रिएका दुई नेता नै भिड्ने बताइएको छ।

रामचन्द्र पौडेलले आफ्नो नाम घोषणा गरिसकेका छन् भने सभापति शेरबहादुर देउवा पनि उम्मेद्वार बन्ने उनी निकट नेताहरुले बताएका छन्।