‘व्यवसायीका केही माग तत्काल पूरा नहुने’

  • 4 एप्रिल 2016
तस्वीर कपीराइट Ram Chandra Giri

वैदेशिक रोजगार व्यवसायीहरुले राखेको सेवा शुल्क वृद्धिको मागबारे लचिलो बनिरहेको भनिएको सरकारले उक्त विषयमा निर्णय गर्न लामो समय लाग्न सक्ने बताएको छ।

व्यवसायीहरुले सेवा शुल्क र निःशुल्क भिसा एवम् टिकटको सरकारी निर्णयबारे पुनर्विचार नगरिए नेपालबाट विदेश जाने कामदारहरुको संख्या घट्ने मात्र नभई उक्त व्यवसायनै धरासायी हुने भन्दै परिवर्तनका लागि निरन्तर दबाब दिंदै आएका छन्।

आइतबार भएको वार्तामा उनीहरुले दक्षिण एसिया र दक्षिण-पूर्वी एसियाबाट विदेशमा काम गर्न जानेहरुले कति सेवा शुल्क लिन्छन् भन्ने फेहरिस्त पेस गरेका थिए।

जसअनुसार भारतदेखि फिलिपिन्सका कामदारहरुले एक महिनाको तलबभन्दा बढी शुल्क दिने गरेको पाइएको छ।

जोडतोड

व्यवसायीहरुका अनुसार ८ महिनाको अवधिमा नेपालमा वैदेशिक रोजगारमा जानेहरुको संख्यामा ४० प्रतिशतले कमी आएको छ।

त्यसैले सरकारी निर्णय फेरिनुपर्ने माग आइतबार श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा उनीहरुले जोडतोडका साथ राखेका थिए।

वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव रोहन गुरुङले भने, “फिलिपिन्सको मोडलमा जाने कि भारतको मोडलमा जान सकिन्छ भन्ने कुरा हामीले राखेका छौँ, जे होस् के निर्णय गर्दा उपयुक्त हुन्छ भन्ने विषयमा वार्ता चलिरहेको छ।”

भारतमा ४५ दिनको तलब सुविधा वा २० हजार भारतीय रुपैयाँ कामदारले तिर्नुपर्ने नियम छ भने फिलिपिन्समा एक महिनाको तलब सेवा र सुविधावापत तिर्नुपर्ने नियम रहेको छ।

तस्वीर कपीराइट none

श्रम तथा रोजगार मन्त्रालयले ८ महिनाअगाडि निःशुल्क भिसा र निःशुल्क टिकटको नियम तथा १० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था लागू गरेको थियो।

सकारात्मक

कामदारको हकमा भएको भन्दै उक्त निकै चर्चित भएको थियो।

तर पछिल्लो समय सरकारले छिमेकी देशहरुको कामदार पठाउने विषय गरेको निर्णय बुझ्न काम थालेपछि सरकार केही सकारात्मक बन्न थालेको भनिएको छ।

यद्यपि वार्तामा बसेका सरकारी पदाधिकारीहरुले सेवा शुल्क बढाउने विषयमा तत्काल निर्णय गर्ने पक्षमा देखिदैन।

वार्तामा सहभागी श्रम तथा रोजगार मन्त्रालयका उपसचिव बाबुराम खतिवडा भन्छन्, “उनीहरुका माग थुप्रै छन्, त्यसैले हामी सजिलोबाट अप्ठेरो मागमा जानेछौँ, एकैपल्ट अप्ठेरोमा हात हाल्यो भने निष्कर्षमा पुग्न नसकिएला, त्यसैले हामी अप्ठेरोमा पछि जानेछौँ।”

सरकार लचिलो बनेको भन्दै आन्दोलत वैदेशिक रोजगार व्यवसायीहरुले ठप्प पार्दै आएको कामदार पठाउने प्रक्रिया थालेका छन्।

उनीहरुले हाल जारी वार्ता जति लम्बिएपनि त्यसले ठोस निर्णय गरेर मात्र टुंगिनुपर्ने बताएका छन्।