प्यानमा दस्तावेजका सूचनाको अनुसन्धान हुने

  • 4 एप्रिल 2016
तस्वीर कपीराइट
Image caption मोसाक फोन्सेकाले आफूले कुनै खराब काम नगरेको बताएको छ

प्यानमाबाट चुहाइएको दस्तावेजहरुले चीनका वर्तमान तथा भूतपूर्व नेताका निकटम नातेदारहरुको सम्बन्ध आफ्नो वित्तीय कारोबार गोप्य राख्न चाहने मानिसहरुले प्रयोग गर्ने अफशोर कम्पनी भनिने कर छलीलगायतका कार्यका लागि विदेशी भूमिमा स्थापना भएका कम्पनीहरुसंग भएको देखाएका छन्।

यसबीच संसारभरका कर अधिकारीहरुले सो चुहाइएको दस्तावेजमा नाम उल्लेख भएका आआफ्ना देशका व्यक्तिहरुबारेका जानकारीको अनुसन्धान गर्ने बताएका छन्।

प्यानमास्थित एउटा कानूनी परामर्श सेवा प्रदायक कार्यालय मोसाक फोन्सेकाबाट चुहाइएको दस्तावेजहरुमा चीनका राष्ट्रपति शी जीनपिंगको परिवारका सदस्यहरु र अन्य दुईजना स्थायी कमिटी सदस्यका नातेदारहरुको पनि नाम देखिएको छ।

प्रतिक्रिया

ति ठूला नेताहरुका आफन्तहरु अफशोर कम्पनीहरुका निर्देशक वा शेयर होल्डरका रुपमा सूचीकृत छन्।

यो विषयमा चीन सरकारले प्रतिक्रिया जनाएको छैन।

आफूलाई गोप्य रुपमा प्रस्तुत गर्न चाहने प्यानमास्थित उक्त कानूनी परामर्श कार्यालय मोसाक फोन्सेकाबाट १ करोड १० लाख गोप्य दस्तावेजहरु चुहाइएको थियो।

सो कम्पनीमाथि आफ्ना केहि ग्राहकहरुलाई कर छल्न र रकम धुलाई गर्न सघाएको आरोप लागेको छ।

आह्वान

अमेरिका, फ्रान्स, ब्रिटेन, अस्ट्रेलिया जस्ता देशहरुले उक्त दस्तावेजमा रहेका सूचनाहरुको अनुसन्धान गर्ने बताएका छन्।

मोसाक फोन्सेकाले आफूले कुनै खराब काम नगरेको बताएको छ।

यसैबीच आइसल्याण्डमा, विपक्षले प्रधानमन्त्रीको परिवारको आर्थिक कारोबारको विवरण ति प्यानमा दस्तावेजहरुमा पाइएपछि उनलाई राजीनामा गर्न आह्वान गरेको छ।

प्रधानमन्त्रीले, कुनै पनि नियम कानून उलंघन नभएको हुंदा आफूले राजीनामा नगर्ने बताएका छन्।