'प्रतिबन्धित निकायहरु पनि सेवाग्राही'

  • 5 एप्रिल 2016
तस्वीर कपीराइट AFP

गोप्य कागजातहरुको चुहावटसम्बन्धी विवादको केन्द्रविन्दुमा रहेको प्यानमाको एउटा कानुनी सेवा प्रदायकका सेवाग्राही अमेरिकी अर्थ मन्त्रालयको कालोसूचीमा परेका सिरिया र उत्तर कोरियाका चर्चित व्यक्तिहरु रहेको पाइएको छ।

तर मोस्याक फोन्सेकाले आफूले जानीजानी सिरिया वा उत्तरकोरियासँग सम्बन्धित व्यक्तिलाई आफ्नो कम्पनीबाट सेवा उपलब्ध नगराएको जनाएको छ।

बीबीसीको एउटा अनुसन्धानले सो फर्मले परमाणु कार्यक्रमको समर्थनमा दशौँ लाख डलरको कारोबार गर्ने उत्तर कोरियाली अधिकारी किम चोल सामको नाममा कम्पनी खडा गरिदिएको देखाएको छ।

मोस्याक फोन्सेकाले अमेरिकी अर्थ मन्त्रालयको प्रतिबन्ध खेपिरहेका इरान, जिम्बावे र उत्तर कोरियासहितका देशका ३३ वटा कम्पनी वा व्यक्तिसँग काम गरेको पाइएको छ।

उत्तर कोरिया

तस्वीर कपीराइट AFP

पछिल्लो जानकारी उक्त कानुनी सेवा प्रदायकका १ करोडभन्दा बढी आन्तरिक दस्तावेजहरु चुहिएपछि सतहमा आएका हुन्।

मोस्याक फोन्सेकाले आफ्नो नाममा विदेशमा कम्पनीहरु दर्ता गर्दै आएको छ जसले त्यस्ताका सम्पत्तिका वास्तविक मालिकहरुको परिचय लुकाउन मद्दत गर्ने गरेको छ।

ताजा खुलासामा मोस्याक फोन्सेकाका कैयौँ ग्राहकहरुले अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्नुअघि देखि नै उसबाट सेवा लिइरहेको पाइएको छ।

र प्रतिबन्ध लागेपछि पनि उसमार्फत नै कारोबार गरिरहेको देखिएको छ।

उत्तर कोरियाको प्योङयाङमा मालिकहरु तथा निर्देशकहरु रहेको डिसीबी फाइनान्स सन् २००६ मा स्थापना भएको थियो र पछि उत्तरको परमाणु कार्यक्रमलाई सघाएको भन्दै अमेरिकाको प्रतिबन्धमा परेको थियो।

तर चुहिएका दस्तावेजहरुले उक्त कम्पनीको मालिक उत्तर कोरियाली अधिकारी किम चोल साम रहेको देखाएको छ।

सन् २०१० मा ब्रिटिश भर्जिन आइलण्डका अधिकारीहरुले सम्पर्क नगर्दासम्म मोस्याक फोन्सेकाले उक्त कम्पनीका मालिक तथा निर्देशक प्योङ्याङमा अवस्थित रहेको भन्ने तथ्यलाई बेवास्ता गरेको पाइएको छ।

तर त्यसपछि उसले उक्त कम्पनीको एजेन्टबाट राजीनामा दिएको थियो।

सिरिया

तस्वीर कपीराइट Reuters

अर्को घटनामा सिरियाली राष्ट्रपति बशर अल असदका नातामा भाई पर्ने रमी मक्लुफ संलग्न पाइएका छनु जसको सम्पति झण्डै ५ अर्ब डलर भएको ठानिन्छ।

सन् २००८ मा अमेरिकी अर्थ मन्त्रालयको प्रतिबन्धमा परेका उनलाई विपक्षी दबाउन बल प्रयोग गरेको र सिरियाको न्यायिक प्रणालीलाई आफ्नो पक्षमा प्रयोग गरेको आरोप लाग्दै आएको छ।

ब्रिटेनको एचएसबिसी बैंकको स्विटजरलण्डको शाखाले मक्लुफको विस्फोटक पदार्थको कारखाना ड्रेक्स टेक्नोलोजीलाई सेवा उपलब्ध गराएको देखिएको छ।

तर बैंकले कुनै गल्ती नगरेको भन्दै आफ्नो बचाउ गरेको छ।

साथै वित्तीय अपराधको नियन्त्रण र प्रतिबन्धहरुको कार्यन्वयनका लागि अधिकारीहरुसँग मिलेर काम गर्ने जनाएको छ।

बचाउ

तस्वीर कपीराइट Getty

पछिल्ला विवरणबारे मोस्याक फोन्सेकाले आफूले जानीजानी उत्तर कोरिया वा सिरियासँग सम्बन्धित व्यक्तिहरुलाई सेवा नदिएको र त्यस्ता व्यक्तिको संभव भएसम्म पहिचान गर्न आफ्नै प्रणाली स्थापना गरेको जनाएको छ।

यसैबीच प्यानमाका राष्ट्रपति हुवाँन् कार्लोस भेरेलाले उनको सरकारले गैरकानुनी वित्तीय गतिविधीविरुद्ध शून्य सहनशीलता अपनाएको बताएका छन्।

एउटा पत्रकार सम्मेलनमा उनले प्यानमा सबैका लागि खुल्ला रहेको र उनले कुनै पनि न्यायिक अनुसन्धानलाई पूर्ण सहयोग गर्ने जनाएका छन्।

तर प्यारिस मुख्यालय रहेको अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एण्ड डेभलपमेन्टले आफ्नो कर प्रणालीका खराबी समाधान नगरेको भन्दै प्यानमाको आलोचना गरेको छ।