क्याथलिक इशाईहरुका लागि पोपको निर्देशिका

  • 8 एप्रिल 2016
तस्वीर कपीराइट Reuters

क्याथलिक इशाईहरुका सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसले रोमन क्याथलिक चर्चका अनुयायीहरुको पारिवारिक जीवनका सम्बन्धमा नयां निर्देशिकाहरु जारी गरेका छन्।

उक्त दस्तावेजले रोमन क्याथलिक चर्चको आधारभूत मान्यता र सिद्धान्तहरुमा कुनै परिवर्तन गरेको छैन। तर आधुनिक परिवारहरुको वास्तविकताहरु तर्फ चर्चले बढी सहानुभूति दर्शाउन आवश्यक रहेको भने बताइएको छ।

पोप फ्रान्सीसले, उनकै शब्दमा, “अनियमित” अवस्थाहरुमा रहेका मानिसहरु तर्फ आलोचनात्मक हुनु भन्दा तिनीहरुप्रति बढी करुणाभाव प्रदर्शन गर्न आग्रह गर्दै प्रेम, यौन र विवाहका सम्बन्धमा नयां निर्देशिकाहरु जारी गरेका हुन्।

शिक्षा

पोपले भनेका छन्, रोमन क्याथलिक चर्चले दिने शिक्षा र प्रवचनहरु ईशाई धर्म अनुयायीहरुको देशको संस्कार र संस्कृति अनुरुप अर्थ्याइनु पर्छ। यसबाट केही पादरीहरुलाई पुरानो पतिपत्नीसंग सम्बन्ध विच्छेद गरेर नयां विवाह गरेका मानिसहरुलाई पनि क्याथलिक चर्चहरुमा धार्मिक सेवा उपलब्ध गराउने बाटो खुलेको छ।

तस्वीर कपीराइट AP

तर महिला र पुरुषबीच हुने विवाह र समलिंगीहरु बीच हुने सम्बन्ध एकै नभएको भनि उनले पुन: जोड दिएकाले त्यसबाट समलिंगी क्याथलिक इशाईहरु भने निराश हुन सक्छन्।

क्याथलिकहरुको पारिवारिक जीवनसंग सम्बन्धित सन्देशहरु रहेको उक्त दस्तावेजलाई संसारभरीका एक अर्ब तीस करोड क्याथलीक धर्मावलम्बीहरुले व्यग्रताका साथ प्रतीक्षा गरिरहेका थिए।

"परिवारमा प्रेम" भन्ने शिर्षक सहितको उक्त दस्तावेजले क्याथलिक सिद्धान्तलाई भने परिवर्तन गरेको छैन।

तर्क

उक्त दस्तावेजमा पोपले यौन शिक्षालाई स्वीकृति दिएका छन्, तर त्यो प्रेमसम्बन्धी शिक्षा दिने संरचनाको एक भागका रुपमा हुनु पर्ने उनको तर्क छ।

तस्वीर कपीराइट EPA

पोपले तीन बर्ष लगाएर गरेका कामको निचोड स्वरुप शुक्रबारको निर्देशिका बाहिर आएको छ।

यो निर्देशिका तयार पार्नु अघि पोपले संसारभरीका परिवारहरुलाई प्रश्नावलीहरु पठाएका थिए।

तिनीहरुलाई आफ्नो आशा र आशंकाहरुका बारेमा बताउन भनिएको थियो।

र त्यसको निष्कर्षका बारे छलफल गर्न उनले विशप र कार्डीनलहरुलाई सिनोड भनिने दुईवटा धर्मसभाहरुमा छलफल गर्न रोममा भेला गराएका थिए।

तस्वीर कपीराइट epa

पोपले उनीहरुलाई संसारका विभिन्न देशमा क्याथलिक चर्चलाई विभाजीत तुल्याएका मुद्दाहरुमा बहस गर्दै आआफ्ना असहमतिहरु समेत व्यक्त गर्न प्रोत्साहित गरेका थिए।

त्यस क्रममा वैवाहिक सम्बन्ध विच्छेद गरेका र पछि फेरि विवाह गरेकाहरुलाई प्रदान गरिने धार्मिक सेवा, परिवार नियोजनका साधनको प्रयोग र समलिंगी क्याथलिकहरुलाई गरिने व्यवहार जस्ता विभाजनकारी विषयहरुमा छलफल भएका थिए।