आगलागी नियन्त्रण: दमकलकै अभाव

  • 9 एप्रिल 2016
fire
Image caption हरेक वर्षजसो चैत-वैशाखमा ठूलठूला आगलागीका घटना हुने गर्छन्

आगलागीका घटना दिनहुँ भइरहँदा पनि सरकारले नगरपालिकाहरुमा दमकलको व्यवस्था गर्न सकेको छैन ।

जसका कारण आगलागीका घटना नियन्त्रण गर्न निकै चुनौतीपूर्ण रहेको गृह मन्त्रालयले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरीको छुट्टै टोली बनाउने र तीन चारवटा दमकललाई एकीकृत गर्ने प्रयास भइरहेको सरकारी अधिकारीहरुको भनाइ छ ।

अभाव

देशभरमा नयाँ, पुराना गरी २ सय १७ नगरपालिका छन् ।

तर दमकल भएका नगरपालिकाको संख्या भने ७१ मात्र छ ।

कतिपय दमकल काम गर्नसक्ने अवस्थामा नरहेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्वीकारोक्ति छ ।

मन्त्रालयका नगरपालिका महाशाखाका सहसचिव गोपीकृष्ण खनालले भने, “सबै नगरपालिकामा दमकल छैन। पुराना ५८ मध्ये ४९ वटामा र नयां १५९ मध्ये २२ वटामा मात्रै दमकल छन्। नयां दमकल खरिद प्रक्रियामा पनि समस्या छ”।

नगरपालिकाहरुको न्यूनतम आवश्यकता आगो निभाउने प्रविधि जडित दमकलको भरपर्दो व्यवस्था हुन नसक्दा आगलागीका घटनाहरुको सामना गर्न निकै चुनौतीपूर्ण रहेको गृह मन्त्रालयको भनाइ छ ।

प्रयास

गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाका अनुसार आगलागीका घटना नियन्त्रण गर्न छिट्टै सशस्त्र प्रहरीको विशेष टोली बनाइनेछ ।

हावाहुरी तथा आगलागीको अहिलेको अवस्थामा दिनहुँ आगलागीका घटनाका समाचारहरु आउने गरेका छन् ।

खासगरी तराईका क्षेत्रमा फुसको छानो भएका घरहरुमा आगो सल्केपछि धेरैको घरबार गुम्ने भएका कारण संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तीनचार वटा नगरपालिकाका दमकललाई एकीकृत गर्ने गृहकार्य थालेको मन्त्रालयका नगरपालिका महाशाखाका सहसचिव खनालले बताए ।

गृह मन्त्रालयका प्रवक्ता कोइरालाका अनुसार सर्वसाधारण आफैं पनि सजग हुन आवश्यक छ ।

उनले भने, "आगो बालेपछि निभाउन नबिर्सने, खाना खाइसकेपछि सकभर राति आगो नबाल्ने आदि गर्न सक्यो भने पनि क्षति कम गर्न सकिन्छ"।