ब्रसल्स आक्रमण: टोपी लगाउने संदिग्ध पक्राउ

  • 10 एप्रिल 2016
brussels तस्वीर कपीराइट Reuters
Image caption मार्च महिनामा भएको ब्रसल्स आक्रमणमा ३२ जनाको ज्यान गएको थियो

गत शुक्रबार पक्राउ परेका मोहम्मद अब्रिनी ‘ह्याट’ लगाएका तिनै व्यक्ति थिए वा थिएनन् भन्ने अन्योल हटाउंदै अभियोजनकर्ताहरुको पछिल्लो भनाइ आएको छ।

अभियोजनकर्ताहरुले मार्च २२ को आत्माघाती बम हमला भएका स्थानहरुमा मोहम्मद अब्रिनी उपस्थित रहेको बताएका छन्।

गत नोभेम्बरमा १ सय ३० जनाको ज्यान जाने गरी प्यारिसमा भएका हमलामा संलग्न संदिग्धका रुपमा पनि अब्रिनीको खोजी भइरहेको थियो।

लामो प्रयास

अब्रिनी शुक्रबार ब्रसल्समा पक्राउ परेका ६ जनामध्येका एक हुन्।

चार जनालाई आतंकवादी क्रियाकलापमा संलग्न भएको अभियोग लगाइएको छ।

ब्रसल्सको जाभेन्टेम विमास्थल र मेट्रो स्टेशनमा भएका आक्रमणमा ३२ जनाको ज्यान गएको थियो।

ब्रसल्स र प्यारिसमा हमला गर्नेहरु तथाकथित इस्लामिक स्टेटले समर्थन गरेको एउटै सञ्जालको भएको ठानिएको छ।

मोरोक्काली मूलका ३१ वर्षे बेल्जियमी अब्रिनीले ह्याट लगाएको व्यक्ति आफू नै भएको अभियोजनकर्तासमक्ष स्वीकारेका छन्।

करिब तीन साता लामो प्रहरीको बृहत खोजीपछि मोहम्मद अब्रिनीलाई पक्राउ गर्न सम्भव भएको हो।

एउटा पत्रकार सम्मेलनमा बेल्जियमका प्रधानमन्त्री शाअर्ल मिसेलले भने,“हामी निश्चय नै पछिल्लो खोजीमा भएका प्रगतिप्रति सकारात्मक छौं। हामीले असाध्यै राम्रा नतिजामा पुग्न सफल हाम्रा सुरक्षा फौजप्रति कृतज्ञता व्यक्त गरेका छौं। तर हामी सबैलाई थाहा छ कि हामी अझै सतर्क र सावधान रहन जरुरी छ”।

अब्रिनीले आफूले ब्रसल्स विमानस्थलबाट सुरक्षित भाग्नुअघि आफूले बोकेको बम फालेको र आफ्नो पहिचान लुकाउन पछि ‘ह्याट’ बेचेको बताएका छन्।