अफगानिस्तान भूकम्प: मुख्य शहरहरुमा धक्का

  • 11 एप्रिल 2016
Image caption ताजिकिस्तान सीमा नजिकै अफगानिस्तान केन्द्रबिन्दु रहेको भूकम्प गएको छ

दक्षिण पश्चिम एसियाका मुख्य शहरहरुमा ६.६ म्याग्निट्युडको भूकम्पको धक्का महसुस भएको छ।

स्थानीय समय साँझ चार बजेतिर पाकिस्तान र ताजिकिस्तानसँगको सीमा नजिकै अफगानिस्तानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले जनाएको छ।

अफगानिस्कातानको काबुल पाकिस्तानको लहोर र भारतको दिल्लीमा भूकम्पको धक्का महसुस भएको बताइएको छ।

ती स्थानहरुमा स्थानीयबासी आफ्नो घर छोडेर बाहिर निस्केका थिए।

अक्टोबर २०१५ मा सोही सीमा क्षेत्रमा आएको ७.५ म्याग्नीट्युडको भूकम्पका कारण ३ सय जनाको ज्यान गएको थियो।

हिन्दु कुश

हिन्दु कुश हिमालय क्षेत्रमा गएको आइतबारको भूकम्पको केन्द्रबिन्दु २१० किलोमीटर गहिराईमा थियो। सन २०१५ को भूकम्पको केन्द्रबिन्दु पनि त्यही गहिराइमा थियो।

पाकिस्तानमा कम्तीमा २७ जनालाई अस्पताल लगिएको पाकिस्तानका सञ्चार माध्यमले जनाएका छन्।

तस्वीर कपीराइट Reuters
Image caption अक्टोबर २०१५ मा ७.५ म्याग्नीट्युडको भूकम्पका कारण तीन सयको ज्यान गएको थियो

क्षतिको विस्तृत विवरण आएको छैन।

केन्द्रबिन्दुबाट ६ सय २० किलोमीटर टाढा रहेको दिल्लीमा मेट्रो रेल प्रणाली केहिबेरका लागि रोकिएको थियो।

बीबीसीका सन्जोय मजुमदारका अनुसार दिल्लीमा थुप्रै परकम्पहरु पनि महसुस भएका थिए।

यूएसजीएसले भनेको छ- यो भूकम्प पृथ्वीकै भौगोलिक रुपमा खतरापूर्ण भूभागमा आएको छ।

पाकिस्तानको डन अखबारले हिन्दु कुश क्षेत्रमा केहि दिन यता थुप्रै भूकम्पका धक्काहरु महशुस भएको जनाएको छ।