मन्दिरमा आगलागीः न्यायिक छानबिनको आदेश

  • 11 एप्रिल 2016
तस्वीर कपीराइट Getty

भारतीय अधिकारीहरुले कम्तीमा १०८ जनाको ज्यान जानेगरी केरलास्थित एउटा मन्दिरमा भएको विष्फोट र आगलागीको घटनाबारे न्यायिक छानबिन गर्न आदेश दिएका छन्।

पारावुरस्थित पुत्तिंगल मन्दिरमा भएको उक्त घटनामा झण्डै ४०० जना घाइते भएका छन्।

अधिकारीहरुका अनुसार सुरक्षाको कारण दर्शाउँदै सुरुमा पुत्तिंगल मन्दिर प्रशासनले पटाका प्रदर्शनी गर्न नदिने बताएपनि मानिसहरुको दबाबमा पछि प्रदर्शनी गर्न दिएको थिए।

प्रहरीले मन्दिर प्रशासन र पटाका प्रदर्शनीका ठेकेदारमाथि कारबाही चलाउने तयारी गरिएको जनाएको छ।

आदेश

केरला सरकारले प्रहरीको फौजदारी अनुसन्धानसँगै न्यायिक छानबिन गर्न पनि आदेश दिइएको बताएको छ।

आधा पड्किन बाँकी रहेको एउटा पटाका उक्त मन्दिरस्थित पटाका भण्डारमा खस्दा आगलागी सुरु भएको बताइएको छ।

त्यसपछि मन्दिरस्थित एउटा भवन भत्किंदा त्यसमा च्यापिएर धेरै मानिसको ज्यान गएको थियो।

स्थानीय नयाँ वर्ष मनाउने क्रममा पटाका प्रदर्शनी हेर्न हजारौँ मानिस त्यहाँ पुगेका थिए।

स्तब्ध

तस्वीर कपीराइट Reuters

घटनास्थलको अवलोकन र स्थानीय अस्पताल पुगेर घाइतेहरुसँग कुराकानी गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले घटना निकै दुःखद र शब्दमा भन्नै नसकिने स्तब्ध पार्ने किसिमको भएको बताएका छन्।

उनले थपे, “यो घटनालाई शब्दमा वर्णन गर्न निकै कठिन छ, घटनास्थलदेखि २०० मिटर टाढा रहेका मानिसहरुलाई पनि चोटपटक लागेको छ।”

बीबीसीकी योगिता लिमये भन्छिन्, आगलागीपछि पुत्तिंगल मन्दिरबाहिर भयानक सन्नाटा थियो, भूइँमा पटाकाका बाहिरी भाग छरिएका देखिन्थे र धेरै जुत्ताहरु यत्रतत्र छरिएका थिए, भागदौड गर्ने क्रममा मानिसहरु एकअर्कादेखि नजिकै लडेको देखिन्थे।

धेरै मृतकहरुको शव चिन्नै नसकिने गरी डढेको र डिएनए परीक्षणपछि मात्र उनीहरुको पहिचान हुन सक्ने केरलाका प्रहरी प्रमुख सेनकुमारले बताए।