‘वनडढेलोले भित्री मधेशमा नाजुक अवस्था’

  • 11 एप्रिल 2016
तस्वीर कपीराइट bbc

देशभरका विभिन्न जिल्लामा यसपाली अस्वाभाविक रुपमा धेरै डढेलो फैलिएको भन्दै विज्ञहरुले वनजंगल छेउका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।

उनीहरु भन्छन् हालसम्मकै सबैभन्दा धेरै ठाउँमा डढेलो फैलिंदा दशौं हजार हेक्टरका वनजंगल नाश हुँदा अर्बौं रुपियाँ बराबरका नोक्सानी हुने देखिएको छ।

वन विभागका अनुसार खासगरी भित्री मधेश, चुरे आसपास तथा अन्य मध्ये पहाडी जिल्लामा अवस्था नाजुक छ।

सतर्क

हुन त चैत, वैशाख महिनामा हरेक वर्ष डढेलो लाग्नु सामान्य नै बनिसकेको छ।

तर यसपाली विगतका वर्षभन्दा निकै धेरै ठाउँमा डढेलो लागेको खबर छ, जसले गर्दा वनजंगल छेउका बासिन्दालाई सतर्क रहन भन्नु पर्ने आवश्यकता दक्षिण एशियाली डढेलो व्यवस्थापन सञ्जालका संयोजक सुन्दर शर्माले औंल्याए।

“जंगलतिरबाट आएका आगो वस्तीमा सल्कन नपाओस्। सबैजना एकदमै सजग हुनुपर्छ। गाउँवस्तीका मानिसहरु उच्च सतर्कतामा रहनु पर्छ। त्यस्तै सरकारी निकाय तथा सुरक्षा निकायले पनि तम्तयारी हालतमा रहनुपर्छ, किनभने कुनैपनि बेला कुनैपनि ठाउँमा जे पनि हुन सक्छ,” उनले भने।

शर्माका अनुसार अमेरिकी अन्तरीक्ष संस्था नासाले उपलब्ध गराएको आँकडा हेर्दा आईतबार नेपालमा हालसम्मकै सबभन्दा धेरै डढेलोका घटना भएको देखियो।

यसअघि २०६६ सालमा एकै दिनमा ४२० ठाउँमा आगलागी भएको किर्तिमान तोड्दै आईतबार ४५७ ठाउँमा डढेलोको तस्वीर देखिएको शर्माले बताए।

उनी जस्तै डढेलोको अनुगमनमा सक्रिय इसिमोडका सुदीप प्रधान पनि यसपालि छक्क परेका छन्।

“यो वर्ष ह्वात्तै डढेलोका घटना बढेको देखेर म छक्क परेको छु। सन् २०१२ देखि हामीले इसिमोडमा स्याटलाईट डाटामार्फत डढेलोको अनुगमन गर्न थालेका हौं। सन् २०१२ को मार्चमा मा ३३७ वटा डढेलोका घटना भएकामा सन् २०१३ मा १७०, सन् २०१४ मा ७० वटा, र सन् २०१५ मा ५० वटा घटना भए। तर यसपालीको मार्चमा ६१७ वटा डढेलोका घटना रेकर्ड भएका छन्,” प्रधानले भने।

नाश

यस्तो डढेलोले दशौं हजार हेक्टर वन सखाप पार्छ।

त्यससंगै असंख्य पशुपंछि तथा जडिबुटीको नाश हुने गर्छ। डढेलोले फैलिएको धुवाँले धेरै ठाउँमा तुवाँलो लाग्छ।

“हालसम्म बाँके र बर्दियाका चुरे क्षेत्र अर्घाखाँची र कपिलवस्तुको सीमा कपिलवस्तु र रुपन्देहीको सीमा सिन्धुली तथा दाङ्गका केही भागमा स्थिति नाजुक छ। त्यसमाथि तीव्र वेगमा चलेको हावाले आगो नियन्त्रण गर्न गाह्रो भएको छ,” वन विभागका महानिर्देशक रेशमबहादुर डाँगीले बताए।

यी क्षेत्रमा कूल वन भूभागको १५ देखि २० प्रतिशत डढेलोको चपेटामा परेको हुन सक्ने उनले अनुमान गरे।

मानवसिर्जित समस्या

तस्वीर कपीराइट bbc
Image caption तीव्र वेगमा चलेको हावाले वनडढेलो नियन्त्रण गर्न कठिनाई भएको बताइएको छ।

नेपालमा डढेलोका झण्डै दुई तिहाई घटना जानीजानी मानिसहरुले नयाँ पालुवा पलाउने आशमा लगाउने गरेको अनि एक तिहाई चाहीं लापरवाहीवश कसैले चुरोटका ठुटा वा कसैले वनमा सानो आगो बाल्दा हुने गरेको पाइएको डढेलो विशेषज्ञ सुन्दर शर्माले बताएका छन्।

पोहोर निकै कम डढेलोका घटना भएकाले त्यतिखेर देखि थुप्रिएका पातपतिंगर समेत हुर्हुर्ती बलेकाले यसपाली धेरै डढेलो भएको हुन सक्ने उनले बताए।

त्यसको अन्य कारणबारे उनी भन्छन्, “डढेलो खासगरी मानिसले जानीजानी वा लापरवाहीपूर्ण रुपमा लगाउने गरेको पाइन्छ। अन्य योगदान चाहीं तापक्रमको वृद्धि, आर्द्रताको कमी तथा पानी लगातार नपर्नुले पुर्याएका छन्।”

वर्षैपिच्छे हुने यस्ता डढेलोको नियन्त्रणमा सरकारी निकाय भने उति सक्षम देखिएको छैन।

आफुहरुसंग आगो नियन्त्रणका लागि साधनस्रोत नभएकाले नियन्त्रणमा थप मुश्किल परेको वन विभागका महानिर्देशक डाँगीको भनाई छ।

भौगोलिक विकटता, दक्ष जनशक्तिको कमी, अग्नि नियन्त्रक उपकरणको अभाव मुख्य कारण रहेको उनले बताए।