जापानको क्युशुमा शक्तिसाली भूकम्प

  • 15 एप्रिल 2016
जापानमा भूकम्पपछि तस्वीर कपीराइट AP
Image caption भूकम्पपछि क्युशुका हजारौं मानिसले बाहिरै रात काटेका छन्

बिहिबार क्युशु टापुमा ६ दशमलव ५ म्याग्निच्युडको भूकम्पपछि कम्तीमा ९ जनाको मृत्यु भएको र सात सय जनाभन्दा बढी घाइते भएका विवरण प्राप्त भएका छन्।

भूकम्पपछि परकम्पनहरु जाने क्रम जारी रहेको बताइएको छ।

त्यस क्षेत्रका अस्पतालहरुमा घाइतेहरुलाई लैजाने क्रम रोकिएको छैन।

भूकम्पले कयौं घरहरु ढाल्दै विद्युत आपूर्ती गर्ने तारहरु चुँडालिदिएको थियो।

सडकहरुमा समेत क्षति पुगेका विवरणमाझ हजारौं मानिसहरुलाई सुरक्षित स्थानहरुमा लगिएको बताइएको छ।

परकम्पनहरु

अधिकारीहरु भन्छन् भत्किएका वा ढलेका घरहरुमुनि अझै पनि कयौ मानिसहरु च्यापिएका हुन सक्छन्।

तस्वीर कपीराइट Reuters
Image caption भूकम्पपछि भत्किएका घरमुनि अझै कयौं मानिस च्यापिएका हुनसक्ने चिन्ता कायमै छ

कुमामातो शहर नजिकैको माशिकीमा हजारौं मानिसहरुले आफ्नो घर छोडेका छन् र थुप्रैले खुल्ला ठाउँमा रात काटेका छन्।

सो शहरका केही बासिन्दाले भने, “हामीले खुट्टा टेक्नै सकेनौं, भूइँचालोले हामीलाई लडाइदियो।”

क्युशुको कुमामोतोदेखि पूर्वतर्फ केन्द्रबिन्दु रहेको भूकम्पपछि त्याहाँ समुद्री क्षेत्रमा त्सुनामी आउन सक्ने चेतावनी दिइएको छ।

भूकम्पका कारण क्युशुमा रहेका आणविक केन्द्रहरुमा कुनै क्षति नपुगेको बताइएको छ।

भूकम्पको केन्द्रबिन्दु जमिनदेखि १० किलोमिटर मुनि रहेको थियो।

भूकम्पको मूल कम्पन आएको ४० मिनेटपछि ५ दशमलव ७ र मध्यरातपछि र ६ दशमलव ४ म्याग्निच्युडका शक्तिसाली परकम्पनले क्युशुलाई हल्लाएका थिए।