जापानमा अर्को शक्तिशाली भूकम्प

  • 16 एप्रिल 2016
तस्वीर कपीराइट AP

जापानको दक्षिणी शहर कुमामोतोमा शुक्रबार मध्यरातमा अर्को शक्तिशाली भूकम्प जाँदा ठूलो क्षति भएको छ।

राष्ट्रिय टेलिभिजनका अनुसार कम्तीमा ६ जनाको ज्यान गएको छ भने ७०० जनाभन्दा बढी घाइते भएका छन्।

शनिबार राति १ बजेर २५ मिनेट जाँदा क्युशु क्षेत्रमा १० किलोमिटरको गहिराइमा ७ दशमलव ३ म्याग्निट्युडको भूकम्प मापन गरिएको अधिकारीहरुले बताएका छन्।

केन्द्रबिन्दुदेखि नजिकको शहर कुमामोतोमा कैयौं भवनहरु भत्किएका छन्, जहाँ संरचनागत क्षतिका कारण एउटा अस्पताल खाली गराइएको छ।

चेतावनी

जापानी मन्त्रिपरिषद्का मुख्य सचिव योशिहिडे सुगले भत्किएका भवनभित्र करिब ७० जना पुरिएको हुन सक्ने आशंका गरिएको बताएका छन्।

तस्वीर कपीराइट AFP

एउटा बाँध भत्किएपछि एउटा गाउँ पनि खाली गराइएको छ।

त्यसपछि सुनामी आउने चेतावनी जारी गरिएको थियो र ५० मिनेटपछि उक्त चेतावनी फिर्ता लिइएको थियो।

बिहानी हुनासाथ सुरक्षाकर्मीहरुले खोजी कार्य शुरु गरेका छन्।

यसअघि बिहीबार गएको ६ दशमलव २ म्याग्निट्युडको भूकम्पभन्दा पछिल्लो भूकम्प शक्ति निस्कासनको दृष्टिले ३० गुणा बढी शक्तिशाली हो।

जापानमा प्रायःजसो भूकम्प गइरहन्छ तर कडा भवन निर्माण संहिताका कारण न्यून क्षति हुने गरेको बताइन्छ।