२५ करोडको वैदेशिक रोजगार बचतपत्र विक्रीमा

  • 16 एप्रिल 2016

विदेशमा कार्यरत नेपालीहरुलाई लक्षित गर्दै नेपाल राष्ट्र ब्याङ्कले यसै सातादेखि २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्रको विक्री खुल्ला गरेको छ।

सरकारी सेवाका कारण विश्वासिलो र राम्रो मानिने ९ प्रतिशत ब्याजदर राखेको भएपनि बचतपत्र राम्ररी विक्री हुनेमा भने ब्याङ्ककै अधिकारीहरुले आशंका व्यक्त गरेका छन्।

विदेशमा रहेका नेपालीहरुले कमाएको रकम अनधिकृत रुपमा नभई संस्थागत रुपमा आए उनीहरुलाई लाभ पुग्ने भन्दै राष्ट्र ब्याङ्कले आकर्षक ब्याज राखेर २५ करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको बताएको छ।

यो वर्ष ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरिरहेको राष्ट्र ब्याङ्कले विक्रीमा राखेको उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफू वा आफ्नो परिवारको सदस्यको नाममा खरिद गर्न सक्ने व्यवस्था गरेको छ।

ब्याजदर

राष्ट्र ब्याङ्कका प्रवक्ता त्रिलोचन पंगेनीले भने, “यसको ब्याजदर ९ प्रतिशत छ, यो सामान्यतयाभन्दा बढी हो, फेरि यसमा जोखिम निकै कम छ अनि विदेशमा दुःख गरेर कमाएका पैसाको केही अंश राष्ट्र निर्माणमा प्रयोग हुन्छ भन्ने खुशीको विषय पनि छ।”

तर आकर्षक ब्याजदर र सरकारी सुरक्षा हुँदाहुँदै बचतपत्र खरिद गर्नेबारे विदेशिएका नेपालीहरुमा कमै मात्र चासो दिएको देखिन्छ।

गत वर्ष पनि २५ करोडकै बचतपत्र निकालेकोमा ८ करोडको हाराहारीमा मात्र विक्री भएको थियो।

तर राष्ट्र ब्याङ्कले ५ अर्बको नागरिक बचतपत्र विक्रीमा राख्दा झण्डै ७ अर्बभन्दा बढी बिकेको थियो।

तरलता

नागरिक सचेतनाको अभावका कारण विदेशिएकाहरुले यसको लाभ लिन नसकेको राष्ट्र ब्याङ्कका डेप्युटी गभर्नर चिन्तामणि शिवाकोटी स्विकार्छन्।

उनी भन्छन्, “विदेशमा जानेहरुलाई यसबारे जानकारी निकै न्यून छ, विदेशमा रहेका राजदूतावासलाई हामीले सूचना दिने गरेका छौं तर अधिकांश रोजगारमा जानेहरु टाढाटाढा हुने भएकोले उनीहरुसम्म यसको लाभबारे जानकारी गराउन सकिएको छैन।”

बजारमा तरलता बढेको बेला राष्ट्र ब्याङ्कले आन्तरिक ऋण उठाउने गर्दछ।

तर वैदेशिक बचतपत्र निकाल्नुको अर्थ भने विदेशिएकाहरुको रकमको सहि रुपमा प्रयोग होस् भन्ने रहेको देखिन्छ।

ब्याङ्कका अधिकारीहरुका अनुसार अब विदेशमा जाने कामदारहरुलाई बचतपत्रबारे पहिले नै जानकारी गराउनेछ।