पोपले आफूसँगै लगे १२ सिरियाली शरणार्थी

  • 16 एप्रिल 2016
तस्वीर कपीराइट ARIS MESSINIS AFP
Image caption भ्याटिकनले ती शरणार्थीहरुको निवेदन प्रक्रिया पूरा नहुँदासम्म उनीहरु ईटलीमा बस्ने बताएका छन्

इशाइ धर्मगुरु पोप फ्रान्सिसले ग्रीसको टापु लेसबसस्थित आप्रवासीको शिविर भ्रमण गरेपछि त्यहाँबाट १२ जना सिरियाली आप्रवासीहरुलाई आफूसँगै भ्याटिकनमा लगेका छन्।

६ जना बालबालिकासहित ३ वटा परिवारका सबैजना मुसलमान हुन् र उनीहरुको घर सिरियाली द्वन्द्वका क्रममा बमको निसानामा परेको थियो ।

भ्याटिकनले निकालेको एक विज्ञप्तिमा पोप फ्रान्सिसले शरणार्थीहरुलाई स्वागतको संकेत गर्न चाहेको उल्लेख गरेको छ।

अपिल

आप्रवासीहरुको आगमनलाई नियन्त्रित गर्न अघिल्लो महिना युरोपेली संघ र टर्कीले सम्झौता गरेसँगै हजारौं आप्रवासीहरु लेसबसमा अड्किएका छन्।

पोपसँगै लगिएकाहरु उक्त सम्झौता लागू हुनु अघिदेखि नै लेलबोसमा रहेकाहरु भएको भ्याटिकनले बताएको छ।

युरोपेली संघ र टर्कीको सम्झौता अनुसार टर्किबाटबाट मार्च २० तारिखपछि ग्रीसको तटमा पुगेकाहरुको शरणको दाबी सफल नभए उनीहरुलाई देश निकाला गरिने उल्लेख छ ।

त्यसको बदलामा टर्कीबाट एकजना सिरियाली फर्किएबापत युरोपेली संघले अर्को सिरियालीलाई टर्कीबाट सिधै लिने उल्लेख छ।

पोप फ्रान्सिसले यसअघि मोरिया शिविरमा रहेका कतिपय फर्काइन लागेका आप्रवासीहरुलाई उनीहरु एक्लो नरहेको बताएका थिए ।

जोड

लेसबोसस्थित शिविरमा करिब ३००० आप्रवासीहरु राखिएका छन्। पोप फ्रान्सिस पुगेका बेला त्यहाँका कतिपय आप्रवासीहरु सहयोगको याचनासहित ब्यानर बोकेर सडकमा लाम लागेका थिए ।

पोप फ्रान्सिसले आफ्नो भाषणका क्रममा आप्रवासीहरुले उनकै शब्दमा ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै यो मानवीय संकटबारे विश्वको ध्यान आकृष्ट गर्न खोजेको बताए ।

शिविरमा रहेका आप्रवासीलाई उनले आशा नमार्न र एकअर्काले आपसमा दिनसक्ने सबैभन्दा ठूलो उपहार नै प्रेम भएको बताए।

भ्याटिकनले पोपको भ्रमण केवल मानवीय र धार्मिक प्रकृतिको भएको भन्दै त्यसलाई देश निकालाको आलोचनाका रुपमा नहेर्न जोड दिएको छ।