ब्रजिलमा संसदमा मतदानअघि प्रदर्शन

  • 17 एप्रिल 2016
तस्वीर कपीराइट Lula Marques Agncia PT

आफूविरुद्ध महाअभियोग लगाउनुपर्ने वा नपर्ने विषयमा संसदमा मतदान हुनुअघि ब्रजिलकी राष्ट्रपति जिल्मा रुसेफले सांसदहरुसँग अन्तिम वार्ता गरेकी छन्।

मतदानअघि एउटा र्यालीमा सहभागी हुने बताइएपनि उनले सांसद र आफ्नै पार्टीका सदस्यहरुलाई आफ्नो पक्षमा मतदान गर्न मनाउने प्रयास गरेकी हुन्।

पछिल्ला प्रक्षेपणबाट राष्ट्रपति रुसेफमाथि महाअभियोग लगाउन खोजिरहेकाहरुको पक्षमा आवश्यक मत पुग्ने देखिएको छ।

सन् २०१४ मा पुनर्निर्वाचित हुनुअघि सरकारी कोषसम्बन्धी विवरण तोडमरोड गरेको आरोप रुसेफमाथि छ तर उनले त्यसको खण्डन गर्दै आएकी छन्।

‘निर्दोष’

आफूविरुद्धको महाअभियोग प्रस्तावबाट जोगिने प्रयासस्वरुप पोर्चुगिज भाषाको एउटा पत्रिकामा कतिपय राजनीतिक अनुहारलाई इंगित गर्दै उनले लेखेकी छन्, “उनीहरु एकजना निर्दोष महिलालाई दोषी देखाउन चाहन्छन् र भ्रष्टहरुलाई जोगाउन चाहन्छन्।”

धोकेबाज र र झुटो’ भएको आरोप लगाउँदै रुसेफले आफ्ना विरोधीहरुले वैधानिक तवरले चुनिएको सरकारलाई हटाउने प्रयास गरिरहेको र त्यसलाई अवैधानिक सरकारमार्फत विस्थापित गर्न खोजेको बताएकी छन्।

आफूले कुनै अपराध नगरेको भन्दै रुसेफले लेखेकी छन्, “यो गणतन्त्र, लोकतन्त्र र समग्रमा निर्वाचन प्रक्रियामा सहभागी ब्रजिलका जनताविरुद्धको कू हो।”

सुरक्षा

तस्वीर कपीराइट Ag. Brasil

यसैबीच रुसेफमाथि महाअभियोग लगाउन हुने वा नहुनेबारे संसदमा मतदान हुनुअघि त्यसको समर्थन र विरोधमा प्रदर्शनहरु भइरहेका छन्।

विपक्षी र समर्थकहरुबीच झडप हुन सक्ने आशंकामा राजधानी ब्रजिलियामा सुरक्षा व्यवस्था कडा पारिएको अधिकारीहरुले बताएका छन्।

रुसेफले लोकतन्त्रको रक्षाका निम्ति भन्दै शान्तिपूर्ण प्रदर्शन गर्न मानिसहरुलाई आग्रह गरेकी छन्।

उनको पक्षमा निकालिएको एउटा र्यालीमा महिला मामिलासम्बन्धी मन्त्रीले रुसेफविरुद्धको कदमको ब्रजिलमा दीर्घकालीन असर पर्ने चेतावनी दिएकी छन्।