महिलालाई वैदेशिक रोजगारमा जान दिने ‘तयारी’

  • 20 एप्रिल 2016
तस्वीर कपीराइट AP

घरेलु कामदारका रुपमा नेपाली महिलालाई विदेश जान रोक लगाएको सरकारले केही नियमहरु परिमार्जन गर्दै उनीहरुलाई विदेश जान स्वीकृति दिने तयारी गरिरहेको छ।

सरकारले रोक लगाएपनि गैरकानूनीरुपमा र अन्य देशको बाटो प्रयोग गरेर अवैधरुपमा घरेलु कामदारहरु विदेशिएको विवरणमाझ सरकारले कडा नियम बनाएर विदेश पठाउने प्रक्रिया फुकुवा गर्न लागेको अधिकारीहरुले बताएका छन्।

अधिकारीहरु भन्छन्, गतवर्ष पारित भएको घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका संशोधन गरेर त्यसमा घरेलु कामदारको हकहित र सुरक्षाका ठोस मापदण्ड बनाउने काम अगाडि बढाइएको छ।

मंगलबार श्रम तथा यातायात मन्त्रालयमा संशोधन गरिन लागेको मुख्य बुँदाहरुमाथि छलफल भएको थियो।

संशोधन

उक्त छलफलका सहभागी ऐन नियम परिमार्जन कार्यदलका विज्ञ मधुविधास पण्डितले भने, “दुई वर्षमा नेपाल फर्किने ग्यारेण्टी हुनुपर्यो, त्यो अवधिमा कुनै शारीरिक वा मानसिक यातना दिनुभएन, तलब कति पाउने हो त्यसको ग्यारेण्टी हुनुपर्यो र त्यो तलब बैंकिङ च्यानलबाट आउनुपर्यो, यस्ता महत्वपूर्ण विषयमा संशोधन हुँदैछ।”

मन्त्रालयले घरेलु कामदारहरुको रुपमा विदेश पठाउने प्रक्रिया हाललाई रोकेको छ।

तर पनि भारत लगायत विभिन्न देशहरुबाट महिला कामदारहरु अवैध तरिकाले जाने क्रम नरोकिएको विवरणहरु बाहिर आएका छन्।

त्यसरी विदेशिने अधिकांशले दुःख पाएको र नियमसंगत ढंगले नगएका कारण पीडित पक्षलाई न्याय दिन अप्ठेरो परेको अधिकारीहरु बताउँछन्।

स्वीकृत

अब चाहिँ वैध र सुरक्षित नियम बनाएर प्रक्रिया फुकुवा गरिने र त्यसका लागि छिट्टै संशोधन प्रक्रिया टुंग्याउन लागिएको अधिकारीहरुले बताएका छन्।

श्रम तथा यातायात मन्त्रालयका सह-प्रवक्ता बाबुराम खतिवडाले भने, “मन्त्रिपरिषद्बाट संशोधन स्वीकृत गरिनेछ, त्यसमा धेरै समय लाग्दैन, यो महिनाभरिमा टुंगिन्छ होला।”

खासगरी खाडी देशहरुमा अवैधरुपमा जाने भएकोले घरेलु कामदारहरुको तथ्यांक यकिन नभएपनि त्यो संख्यामा १० हजारभन्दा बढी हुनसक्ने बताइन्छ।

अब परिमार्जन हुने नियममा वैदेशिक रोजगारदाता कम्पनीले कामदारको जिम्मा लिनुपर्ने बुँदा पनि रहेको अधिकारीहरुले बताएका छन्।