नेपाली किशोरीको यौनशोषण, ११३ माथि मुद्दा

  • 20 एप्रिल 2016

काम दिलाउने वाचा गरेर नेपालबाट भारतको महाराष्ट्रस्थित पुणे शहर लगिएकी एकजना किशोरीमाथि लैंगिक हिंसा गरेको आरोपमा पुणे प्रहरीले ११३ जनामाथि मुद्दा दर्ता गरेको छ।

पीडित किशोरीका अनुसार विगत २ वर्षभन्दा धेरै समयदेखि उनीमाथि लैंगिक हिंसा भईरहेको थियो, जसमा १०० भन्दा धेरैजना संलग्न थिए।

पुणेको प्रहरीले यो विषयबारे अहिलेसम्म पुणेको विमान नगरमा बस्ने स्वीकृति खरेल, रमेश ठाकुला, तपेन्द्र शाही, हरीश साहा र रोहित भण्डारी गरेर ५ जनालाई गिरफ्तार गरेको छ।

प्रहरीले अन्य आरोपीहरुलाई खोजिरहेको छ।

प्रस्ताव

१६ वर्षकी सोनम (परिवर्तित नाम) नेपालको पूर्वी नगर काकरभिट्टामा आफ्नो परिवारसंग बस्थिन्। उनको परिवारको आर्थिक स्थिति राम्रो थिएन।

उनका बुबा सानो चियापसलको आयबाट जीवनयापन गरिरहेका थिए।

उनको पसलमा रोहित भण्डारी आउनेजाने गरिरहन्थे र सोनमका बुवाका साथी बनेका थिए।

एक दिन उनले सोनमलाई पुणेमा ब्युटी पार्लरमा राम्रो तलबसहितको जागिर दिलाउने प्रस्ताव राखे।

सोनमको तलबले परिवारको आर्थिक अवस्था सुधार्न मद्दत गर्ने भण्डारीले विश्वास दिलाए।

रोहितसंगको लामो समयदेखिको मित्रताका कारण सोनमका परिवारले उनलाई रोहितसंग पुणे पठाउने निर्णय गरे।

सुनौलो भविष्यको सपना देख्दै सोनम पनि रोहितसंग हिंडिन्।

आफूले वाचा गरेजस्तै रोहितले शुरुमा सोनमलाई पुणेमा एउटा ब्युटी पार्लरमा काम दिलाईदिए।

शुरुका केही दिन सजिलैसंग बिते र सोनमलाई आफ्नो जिन्दगी सुध्रिन लागेको जस्तो भयो।

तर उनको भाग्यमा अर्कै लेखिएको थियो।

अत्याचार

रोहितले स्वीकृतिसंग मिलेर सोनमलाई जबरजस्ती वेश्यावृत्ति शुरु गर्न लगाए।

सोनमले विरोध गरेपछि उनलाई लागू औषध खुवाएर उनीमाथि शारीरिक अत्याचार गरियो।

सोनम २ वर्षसम्म शारीरिक अत्याचारको शिकार बनिन्।

त्यो अवधिमा उनीमाथि १०० जना भन्दा बढीले दुर्व्यवहार गरेका थिए।

प्रहरीबाट बच्नका लागि अभियुक्तहरुले सोनमलाई नयाँ नयाँ ठाउँहरुमा राख्ने गर्दथे।

उजुरी

सोनमले प्रहरीलाई गरेको उजुरीमा भनेकी छन्, उनलाई वेश्यावृत्तिका लागि स्वीकृति र उनका साथीहरुले हैदराबाद, भोपाल, र अहमदाबादसम्म पनि लैजान्थे।

गत महिना स्वीकृति र उनका साथीहरुले सोनमलाई पुणेको खारडी क्षेत्रमा एउटा कोठामा लगेका थिए, जहाँ उनीमाथि कुटपिट गरिएको र गर्भपतन पनि गराइएको थियो।

त्यसै कोठामा दिल्लीकी एकजना मोडललाई पनि राखिएको थियो।

स्वीकृति र उसका साथीहरुले मोडल बन्ने उद्देश्य राखेकी ती २६ वर्षीय महिलालाई पनि जबरजस्ती वेश्यावृत्तिमा लगाएका थिए।

गत महिना मौका हेरेर तिनै महिला सोनमलाई लिएर दिल्लीतर्फ भागिन् र प्रहरीसमक्ष उजुरी गरिन्।

मुद्दा पुणेको भएको हुनाले दिल्लीको प्रहरीले त्यसलाई पुणे पठाएको थियो।

त्यसपछि गत शनिबार पुणेको प्रहरीले सोनमको बयान लिएपछि ११३ जना विरुद्ध मुद्दा दर्ता गरेको छ।

प्रहरीले अन्य अभियुक्तहरुलाई खोजी गरिरहेको जनाएको छ।