कूटनीतिज्ञहरुसंग गठबन्धनको छलफल

  • 21 एप्रिल 2016
तस्वीर कपीराइट upendra yadav facebook
Image caption यादवले आन्दोलनबारे जानकारी दिंदा विदेशी गुहारेको नहुने बताएका छन्।

केही दिन यता नयाँ आन्दोलनका कार्यक्रमहरुको तयारीमा लागेको तराई केन्द्रित दलहरु सम्मिलित संघीय गठबन्धनले बिहीबार काठमाण्डौंमा रहेका विभिन्न देशका कूटनीतिक प्रतिनिधिहरुलाई त्यसबारे जानकारी गराएका छन्।

वर्तमान संविधान विभेदकारी र त्रुटिपूर्ण भएको भन्दै आन्दोलनको औचित्यबारे बताइएको गठबन्धनका नेताहरुले जनाएका छन्।

सामूहिक भेट

विगतमा भारतीय तथा चिनियाँ कूटनीतिक प्रतिनिधिहरुसंग तराई केन्द्रित दलका नेताहरुले छुट्टाछुट्टै छलफल गरिसकेको भए पनि पहाडका जनजाति समूहसंग मिलेर संघीय गठबन्धन बनाएपछि भने बिहीबार उनीहरुले पहिलोपटक विभिन्न देशका दूतहरुसंग सामूहिक भेट गरेका हुन्।

उक्त भेट विशेषगरी वर्तमान संविधानबारे आफ्ना फरक दृष्टिकोण अवगत गराउन केन्द्रित भएको सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताए।

“संविधानमा त्रुटिपूर्ण तथा विभेदकारी प्रावधानहरु भएको, अन्तरिम संविधानमा दिइएका अधिकार समेत खोसिएको, शान्तिपूर्ण आन्दोलनमा व्यापक मानव अधिकार हनन भएको जस्ता विषयमा हामीले आफ्ना भनाइ राखेका हौं,” महतोले भने।

गठबन्धनका नेताका अनुसार सो भेटमा चीनका राजदूत उपस्थित थिए भने भारतका राजदूत काठमाण्डौंमा नभएकाले उनका प्रतिनिधि उपस्थित थिए।

साथै अमेरिका, यूरोपेली देश तथा अन्य राष्ट्रका कूटनीतिक प्रतिनिधि समेत उपस्थित रहेको उनले बताए।

‘गुहारेको होइन’

विदेशी प्रतिनिधिहरुलाई बोलाएर भेट्नुलाई विदेशी गुहारेको रुपमा लिन नहुने संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए।

“यो विश्वव्यापीकरणको जमानामा यस्ता विषयलाई गुहारेको अर्थमा लिनु हुन्न। हामीले अन्तर्राष्ट्रिय जगतमा रहेका भ्रम हटाउन तथा उनीहरुको समेत कुरा सुन्न जरुरी छ। यो देश र जनताको हितमा नै छ। हामीलाई चुनाव जिताइदेउ वा सरकारमा पुर्याइदेउ भन्न हामी गएका हैनौं,” यादवको भनाई थियो।

केही दिन यता संघीय गठबन्धनको गठनपश्चात तराई केन्द्रित दलहरुको मोर्चाभित्र संलग्न दलहरुबीच खटपट रहेको भन्ने खबरका माझ बिहीबारको कार्यक्रममा भने प्राय: सबै तराई केन्द्रित दलका शीर्ष नेता उपस्थित रहे।

अब गठबन्धनकै नाममा गरिने आन्दोलनका कार्यक्रम शुक्रबार सार्वजनिक गरिने बताइएको छ।