ब्रिटेन इयुमै रहिरहनु ठीक: ओबामा

  • 22 एप्रिल 2016
britain
Image caption ब्रिटेनलाई इयुभित्रै रहंदा धेरै फाइदा हुने ओबामाको निचोड छ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले ब्रिटेन युरोपेली संघ (इयु)को भाग रहिरहनुपर्ने पक्षमा आफ्नो समर्थन घोषणा गरेका छन्।

उक्त विषयमा आगामी जुन महिनामा ब्रिटेनमा जनमत संग्रह हुन लागेका बेला ओबामाको त्यस्तो घोषणा आएको छ।

फाइदा

आफ्नो तीन दिने ब्रिटेन भ्रमणको पहिलो दिन 'द टेलिग्राफ' अखबारमा लेख्दै ओबामाले, यदि ब्रिटेनले इयु छाडे उ आतंकवाद, आप्रवासी संकट र आर्थिक समस्यासंग जुझ्न कम समक्ष हुने टिप्पणी गरे।

ओबामाले इयुको सदस्यताले, उनकै शब्दमा, प्रजातन्त्र, कानुनी शासन र खुला बजारजस्ता ब्रिटीश मूल्यमान्यताको विस्तार गरी ब्रिटेनको प्रभाव फैलाउन गर्न मद्दत गर्ने बताए।

ओबामा बिहीबार अबेर राति ब्रिटेन पुगेका छन्।

ओबामाले ब्रिटेन इयुमा रहने वा नरहने भन्ने विषयको निर्णय गर्ने अधिकार ब्रिटीश जनतासंग रहेको तर त्यसको नतिजा अमेरिकाको लागि पनि रुचिको विषय भएको उल्लेख गरेका छन्।

उनले भने,'तपाईंहरुले रोज्ने बाटो अहिलेको अमेरिकी पुस्ताको सम्भावनामा पनि प्रतिध्वनित हुनेछ"।

ओबामाको टिप्पणीलाई लिएर ब्रिटेनमा व्यापक बहस भइरहेको छ।

इयु छोड्न चाहनेहरुले ओबामाको टिप्पणीलाई ढोंगका रुपमा व्याख्या गरेका छन्।