भूकम्पसंग नदच्कने चिलीको कथा

  • 24 एप्रिल 2016
तस्वीर कपीराइट bbc

वैशाख १२ को भूकम्प गए यता हालसम्म रिक्टर स्केलमा ४ म्याग्निच्युड माथिका गरी करिब साढे चार सय साना ठूला भूकम्प गइसके।

हरेक पटकको परकम्पले नेपालीको सातो लगेको छ। नब्बे सालपछि ठूला भूकम्प नबेहोरेको पुस्ताका निम्ति यो वर्ष निकै कहालीलाग्दो रह्यो।

शहरका ठूलाठूला घरभित्र समेत रातमा चैन थोरैलाई मात्र आयो।

धेरैलाई त अब खासगरि काठमाण्डू बस्न लायक नै पो छैन कि वा यहाँ विकास निर्माण नै पो अब सम्भव छैन कि भन्ने सम्म परेको छ।

तर विश्वमा यस्ता ठाउँ पनि छन् जहाँ हरेक १०/१२ वर्षको अन्तरालमा नेपालले वैशाख १२ मा बेहोरेको भन्दा कैयौं गुणा ठूला भूकम्पको झट्का बेहोर्नुपर्छ।

दक्षिण अमेरिकाको चिली त्यस्तै एक देश हो जसले भूकम्पको चुनौतिलाई सामना गर्दै विकसित देशको सूचीमा आफुलाई उभ्याएको छ।

चिलीको लोभलाग्दो प्रगति र उसले भूकम्पसंग जुध्न अपनाएको तरीका के हो त?

तुलना

वैशाख १२ मा ७.८ रिक्टर म्याग्नेच्युडको भूकम्पले नेपालमा ९ हजारको ज्यान लियो र कैयौं जिल्ला तहसनहस बनायो।

त्यसको साढे चार महिनापछि चिलीमा ८.३ म्याग्नेच्युडको भूकम्प आयो जसले जम्मा जम्मी १३ जनाको ज्यान लियो।

उस्तै प्रकोप तर धेरै फरक नतीजा। के फरक छ त चिली र नेपालमा?

पहिलो कुरा त बारम्बार भूकम्पले सताएपछि चिलीले त्यसको पूर्वतयारी र जोखिम बहनको क्षमतालाई ध्यान दियो।

उनीहरुले वर्षमा एक पटक विद्यार्थी पूर्वतयारी गराउँछन्, जुन सबै स्कूलमा हुन्छ।

स्यान्टियागोस्थित एक विद्यालय लिसियो नुमेरो उनो हाभियारा कारेरा का विद्यार्थीहरुलाई प्रत्येक वर्ष भूकम्प आएकै जस्तो भान पारेर के कसो गर्ने भन्ने अभ्यास गराइन्छ।

शिक्षा मन्त्रालय तथा विपद व्यवस्थापन निकायको समन्वयमा विद्यालयहरुमा गरिने यस्तो अभ्यासमा भूकम्प आउँदा के गर्ने, कसरी आफु र अरुलाई बचाउने, प्राथमिक उपचार कसरी गर्ने जस्ता विषय समेटिन्छ।

उक्त विद्यालयको माध्यमिक तहमा पढ्ने पाउलीना भन्छिन् यस्तै अभ्यासले गर्दा गत वर्षको सेप्टेम्बरमा आएको ठूलो भूकम्पका बेला उनी हडबडाइनन्।

“म त्यतिबेला अग्लो शपिंग मलमा थिएं। एक्कासी मानिसहरु आत्तिन थाले, तर म आत्तिइन। बरु मैले उनीहरुलाई सम्झाई बुझाई शान्त पार्न सकें,” उनले भनिन्।

तस्वीर कपीराइट bbc
Image caption स्कूले बालबालिकालाई विपद पूर्वतयारी र अभ्यास नियमित गराउँदा पूरै परिवारलाई फाइदा पुग्ने ठानिन्छ

शिक्षकहरु पनि विद्यार्थीलाई यस्ता अभ्यासमा संलग्न गराउँदा जीवन पर्यन्त उनीहरुले त्यसको फाइदा लिन सक्ने ठान्छन्।

फरक नतीजा

नेपालमा भारतीय तथा तिब्बती प्लेटको जुधाईले भूकम्प जाने गरेको जस्तै चिलीमा खासगरी नाज्का र दक्षिण अमेरिकी प्लेटको जुधाईले भूकम्प जाने गर्छ।

केही वर्षका अन्तरालमै महाभूकम्प बेहोर्नुपर्ने वाध्यताले गर्दा यहाँका मानिसहरुमा पूर्वतयारीको महत्व बोध भएको छ।

यही पूर्वतयारीले थुप्रै ज्यान जोगाउने उनीहरु ठान्छन्।

सन् २०१० मा उत्तर अमेरिकाको हैटीमा रिक्टर स्केलमा ७ म्याग्नेच्युडको भुईंचालो जाँदा करीब दुई लाख मारिए। तर त्यसको डेढ महिनापछि चिलीमा आएको ८.८ म्याग्नेच्युडको भुईचालोले पाँच सय मानिस मरे - त्यो पनि अधिकांश त सुनामीका कारण।

गत एक वर्षको उदाहरण हेर्ने हो भने पनि नेपालमा ७.८ को भुईचालोले ९ हजार मारिए भने त्यसको पाँच महिनापछि चिलीमा आएको ८.३ को भुईचालोमा एक दर्जनको मात्र ज्यान गयो।

चिलीको राष्ट्रिय भूकम्पमापन केन्द्रका निर्देशक सेर्गियो ब्यारियन्तोस् भन्छन् गत चार सय वर्षको आँकडा अध्ययन गर्दा त्यहाँ औसतमा हरेक १२ वर्षमा एउटा ८ रिक्टर स्केलको अनि दशवटा ७ रिक्टर स्केलका भूकम्प आउने गरेको देखिन्छ।

तर शिक्षा र तयारीले यसले पार्ने प्रभाव वर्षेनी घट्दै गएकोमा उनी सन्तुष्ट छन्।

“पछिल्ला वर्षहरुमा विपद शिक्षामा निकै प्रगति भएको छ। मानिसहरुलाई कहाँ सुरक्षित हुन्छ भन्ने बोध गराउने, घर तथा कार्यालय दुवै ठाउँमा कसरी सुरक्षित रहने, अनि दिउँसो भूकम्प आए कसरी व्यवहार गर्ने र राती आए के गर्ने भनेर सिकाइनु महत्वपूर्ण छ। खासमा प्राकृतिक विपत्ति भनेका प्राकृतिक होइनन् मानव निर्मित विपत्ति हुन्। तिनबाट बच्न धेरै काम गर्न सकिन्छ,” उनले भने।

भूकम्पसंग बच्न गर्न सकिने चिलीले देखाएको अर्को महत्वपूर्ण काम भनेको कडा भवन निर्माण मापदण्ड र त्यसको उत्तिकै कडाईका साथ परिपालना समेत हो।