भूकम्प थेग्ने संरचना निर्माणमा चिलीको दृष्टान्त

  • 25 एप्रिल 2016
तस्वीर कपीराइट bbc

गत वर्षको भूकम्पले नेपालमा झण्डै आठ लाख घरहरु पूर्ण वा आंशिक क्षतिग्रस्त भए।

राजधानी शहरमै पनि अस्पताल भवन देखि स्कूल भवन समेत कैयौं गर्ल्यामगुर्लुम ढले।

यो क्षतिको मनोवैज्ञानिक असर कति गहिरो रह्यो भन्ने विषयको प्रमाण कैयौं सातासम्म अपार्टमेन्ट भवनमा मानिस बस्न नचाहनुले समेत देखायो।

के अब काठमाण्डौंमा ठूला घर बनाउन नमिल्ने हो? वा अब महानगरमा आवश्यक पर्ने फ्लाइओभर वा भूमिगत रेल जस्ता अन्य शहरी संरचना काठमाण्डौंमा बनाउन नसकिने हो? भन्ने जस्ता प्रश्न तेर्सिए।

तर राम्रो भवन संहिता र तिनको उत्तिकै राम्रो कार्यान्वयन गर्ने हो भने यी सबै सम्भव हुँदारहेछन् भन्ने दृष्टान्त दक्षिण अमेरिकी देश चिलीले प्रस्तुत गरेको छ।

स्यान्टियागोको शान

राजधानी स्यान्टियागोको केन्द्रमा अवस्थित ६४ तले ग्र्यान टोरे भवन चिलीको प्राकृतिक विपदसंग जुध्ने क्षमताको ज्वलन्त प्रतीक रहेको छ।

सन् १९६० मा संसारमै हालसम्म रेकर्ड गरिएका मध्ये एक सबभन्दा शक्तिशाली ९.५ म्याग्नेच्युडको भ्याल्डीभिया नामक भूकम्प बेहोरेको चिलीले त्यसको ५० वर्ष वित्दा भूकम्पको जोखिम बहन गर्न सक्ने क्षमतालाई उदाहरणीय ढंगले बढायो।

सन् २०१० मा अर्को शक्तिशाली ८.८ म्याग्नेच्युडको भूकम्प आइञ्जेल त ऊ दक्षिण अमेरिकाभरीकै एक सबभन्दा धनी देश बनिसकेको छ।

विश्व ब्यांकले उच्च आय भएको देशको सूचीमा राखिसकेको चिलीले हरेक एक डेढ दशकमा महाभूकम्प बेहोर्छ, तापनि मानवीय क्षति अत्यन्त न्यून हुने गर्छ।

त्यतिमात्र होइन, आधुनिक शहरमा पाइने हर किसिमका संरचना यहाँ छ।

तस्वीर कपीराइट bbc
Image caption ग्रान टोरे भवनले गत ६ वर्ष यता ८ रिक्टर भन्दा माथिको ३ वटा भूकम्प बेहोरिसकेको छ

दक्षिण अमेरीकी महादेशमा चिलीमा भन्दा ठूला र शक्तिशाली ब्राजील अनि अर्जेन्टीना छन्। तर उक्त महादेशको सबभन्दा अग्लो भवन भने यही ग्र्यान टोरे हो, जुन ३०० मीटर अग्लो छ।

बारम्बार ठूला भूकम्प आइरहने यो शहरमा अग्लाअग्ला भवनमा बस्ने मानिसहरु भने निश्चिन्त देखिन्छन्।

स्यान्टियागोका आर्तुरो तोरेस भन्छन् निर्माण गुणस्तरमा उनी ढुक्क छन्। “म आफैं नौ तला माथिको कोठामा बस्छु। मलाई डर लाग्दैन,” तोरेसले भने।

निर्माण संहिताको कमाल

पूरै दक्षिण अमेरिकाका शहरहरुमध्ये स्यान्टियागोको मेट्रो रेल सेवालाई सबभन्दा विस्तृत मानिन्छ।

शहरको केन्द्रमा भूमिगत अनि अन्यत्र माथि दौडने यो रेल सेवालाई प्रतिदिन २५ लाखले प्रयोग गर्छन्।

सन् २०१० मा ८.८ रिक्टर स्केलको भूईंचालो आएपछि आठ दश घण्टा यसको सेवा रोकिएको थियो। प्राविधिकहरुले विस्तृत परीक्षण गर्दा सुरक्षित रहेको पाएपछि सोही दिन यो पूर्ववत सञ्चालनमा आयो।

भूकम्पका ठूल्ठूला धक्का आइरहने यस्तो ठाउँमा यो सबै सम्भव कसरी भयो त?

स्यान्टियागो मेट्रोका इञ्जिनीयरीङ्ग प्रबन्धक हेक्टर गोञ्जालेज गारीडो भन्छन्, “सबैभन्दा महत्वपूर्ण माटोको विशेषता जान्नु हुन्छ। ठाउँअनुसार यी फरक हुन्छन् र यसकै आधारमा कस्तो संरचनाको कसरी डिजाइन गर्नुपर्छ भनेर जानिन्छ। त्यसपछि संरचनाका बारे ध्यान दिनु पर्छ। यति भए सुरक्षित हुन्छ।”

तस्वीर कपीराइट bbc
Image caption मेट्रो प्रणालीलाई सुरक्षित बनाउन माटो परीक्षण तथा संरचना निर्माणा निकै ध्यान पुर्याइएको बताइन्छ

खासमा सन् १९६० को महाभूकम्पपछि चिलीले भवन संहितालाई गम्भीर ध्यान दिन थाल्यो।

सन् १९७२ मा बनेको भूकम्पसम्बन्धी भवन संहितालाई विश्वकै उत्कृष्ट मध्ये मानिन्छ। यसले घर बनाउनेलाई भूकम्प प्रतिरोधी बनाउन वाध्य पार्छ र केही गडबडी भए लामो जेल सजाय सम्म दिन्छ।

मुख्य कुरा त यो संहिताको कार्यान्वयन नै हो। सफल कार्यान्वयनका पछाडी प्रतिबद्ध नेतृत्वको अतिरिक्त कानुन मान्ने र छलछाम नगर्ने प्रवृत्ति निकै जिम्मेवार छ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले गत वर्ष प्रकाशन गरेको भ्रष्ट देशहरुको सूची हेर्ने हो भने त्यहाँ चिली २३ औं स्थानमा छ, जबकि नेपाल १३० औं स्थानमा छ। त्यसले पनि यहाँ भवन संहिताको पालना लगभग शतप्रतिशत हुने गरेको अधिकारीहरु बताउँछन्।

ग्रान टोरे भवन डिजाइन गर्ने कम्पनीका प्रमुख कार्यकारी रेने लागोसले त्यसको पुष्टी गर्दै भने, “५० वर्ष अगाडीको कुरा गर्ने हो भने हामी पनि प्रत्येक भूकम्प पश्चात मरेकाहरुको संख्या र हजारौं विफलताका गणना गरेर बस्थ्यौं। तर तारन्तार भूकम्प आइरहने भएकाले हामीकहाँ उच्चस्तरको भवन संहिता बनाइयो र कडाइकासाथ लागु गराइयो। यसले हामीलाई सफल बनायो। अब त निर्माण कम्पनी, प्रबर्द्धक तथा डिजाइनर सबै एकदमै गम्भीर र सचेत छन्।”

पछिल्ला वर्षहरुमा चिलीका निर्माण कम्पनीहरुले बेहोरेको चुनौति अलि अनौठो छ।

लागोस भन्छन् अचेल समाजको माग यति धेरै छ कि भवन नभत्किएर वा नविग्रिएर मात्र पुग्दैन। महाभूकम्पपश्चात पनि ती भवनका अन्य सेवा जस्तै ढलका पाइप, पार्टिसन वाल अनि अन्य संरचना दुरुस्तै रहने निश्चय गर्नु अब उनीहरुको चुनौति रहेको उनले बताए।

चेतनाको असर

चिलीको भूकम्प प्रतिरोधी क्षमताको विकासमा साधारण जनताको चेतना को निकै योगदान देखिन्छ।

घर बनाउँदा वा किन्दा उनीहरुले निकै ध्यान दिने स्यान्टियागोस्थित युनिभर्सिटि अफ क्याटोलिका का स्ट्रक्चरल इञ्जिनियरिङ्गका उपप्राध्यापक माथियास हुबेले बताए।

“चिलीमा के भएको छ भने, यहाँका जनतालाई भूईं हल्लिरहन्छ भन्ने थाहा छ। त्यसैले उनीहरुले घर बनाउँदा होस् वा किन्दा, यसबारे निकै विचार पुर्याउँछन्। अनि भवन संहिता कार्यान्वयन गर्न नगरपालिकाहरु एकदमै अग्रसर हुन्छन्। विना इजाजत खासै घर बन्दैनन्। यसले सुरक्षित बनाएको छ।”

यति पूर्वतयारी र भवन संहिताको पालना हुँदाहुँदै पनि हुने हुनामी भइहालेमा चिलीले त्यसका लागि समेत व्यवस्थित विपद व्यवस्थापनका संरचना तयार पारेको छ।

ओनेमी भनिने उक्त निकायले सो जिम्मा सम्हाल्छ।

“पछिल्ला वर्षहरुमा हामीले अपनाएको परिवर्तन भनेको पूर्वतयारीमा बढ्ता ध्यान दिनु हो। विगतमा केवल विपदपछिको काममा ध्यान थियो, तर अहिले पूर्व तयारी, सावधानी प्रणाली जस्ता विषयमा धेरै काम गर्छौं,” ओनेमीका राष्ट्रिय निर्देशक रिकार्डो टोरोले बताए।

कडा भवन संहिता र उत्तिकै कडा पालनालाई समेत चिलीले पूर्व तयारी अन्तर्गत एक प्रमुख पाटोको रुपमा लिएको छ।

आइपर्न सक्ने विपत्तीबारे पहिले नै सचेत र तयारी हालतमा बसे पछुताउनु नपर्ने उनीहरुको अनुभव नेपालको निम्ति समेत उत्तिकै मननीय देखिन्छ।