'भागदौडमा मारिएकाहरुको गैरकानुनी हत्या'

  • 26 एप्रिल 2016
हिल्जबरो तस्वीर कपीराइट AFP
Image caption छानबिनले भागदौडपछि प्रहरीले गरेको कारवाही ती मानिसहरुको मृत्युको थप कारक रहेको निचोड निकालेको छ

ब्रिटेनमा सन् १९८९ मा उत्तरी इंगल्याण्डको रंगशालामा भएको भागदौडमा च्यापिएर मारिएका ९६ जना लिभरपुल फुटबल टिमका समर्थकहरुको गैरकानुनी हत्या भएको निष्कर्ष लामो समयदेखि प्रतीक्षा गरिएको एक न्यायिक छानबिनले निकालेको छ।

हिल्जबरो विपदबारे गरिएको दुई वर्ष लामो उक्त छानबिनले भागदौडपछि प्रहरीले गरेको कारवाही ती मानिसहरुको मृत्यु हुनुमा थप कारक रहेको निचोड निकालेको छ।

समर्थकहरुको व्यवहारलाई दोष दिन नमिल्ने पनि उसले जनाएको छ।

निचोड

अदालतमा ती निचोडहरु प्रस्तुत गरिएपछि मारिएका परिवारजन रोएका थिए।

स्थानीय प्रहरी प्रमुखले ती निचोडलाई सम्पूर्णरुपमा स्वीकार्ने भन्दै पीडित परिवारजनसंग क्षमा माग्न चाहेको बताए।

ज्यूरीले तत्कालीन म्याच कमाण्डरको चरम लापरवाहीका कारण ती सबै मृत्यु भएको भन्दै उनैलाई जिम्मेवार ठहराएको छ।

उक्त एफ ए कप सेमीफाइनल प्रतियोगितामा प्रहरीको गल्तीले खतरापूर्ण अवस्थालाई थप बिगारेको थियो।

मुक्ति

मारिएकाहरुको परिवारको सत्ताईस वर्ष लामो अभियानपश्चात ती लिभरपुल समर्थकहरुलाई उनीहरुमाथि लागेको दोषबाट मुक्ति मिलेको छ।

सन् १९८९ को १५ अप्रीलका दिन शेफिल्ड वेडनज्डेको रंगशालास्थित लेपिंग्स लेन खण्डमा दर्शक आवतजावत नियन्त्रण गर्न राखिएको टर्नस्टाइलमा उत्पन्न खतरापूर्ण स्थितिलाई भड्काउन ती समर्थकहरुले कुनै योगदान नपुर्याएको ज्यूरीले उल्लेख गरेको छ।

हिल्जबरो विपदलाई ब्रिटेनको इतिहासकै सबैभन्दा खराब खेलकूद दुर्घटना मानिन्छ।