ब्रिटेनका नेपालीद्वारा भूकम्पको सम्झना

  • 26 एप्रिल 2016

नेपालमा ८, ००० भन्दा बढी मानिसहरुको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पको एक वर्ष पूरा भएको छ।

ब्रिटेनको नेपाली समुदायका धेरै मानिसहरुले उक्त विपत्तिमा आफ्नो परिवारका सदस्य वा साथी गुमाए।

बीबीसी एसियन नेटवर्कका विश्व समानीले हालै ब्रिटेनमा उनीहरुमध्ये केहीलाई भेटेका थिए।

उत्तर-पश्चिमी लण्डनमा सयौं संख्यामा ब्रिटेनमा बस्ने नेपालीहरुले उनीहरुको नयाँ वर्ष मनाइरहेका थिए।

सँगै उनीहरुले एक वर्षअघिको भूकम्पमा ज्यान गुमाएका मानिसहरुको सम्झना गर्दै थिए।

एउटा बिहेमा सहभागी हुनका लागि लेखापाल दिनेश थापा गइरहेका बेला भूकम्प गयो।

गाउँमा रहेका आफ्नो परिवारका सदस्यहरुसम्म पुग्न उनलाई तीन दिन लागेको थियो।

उनी भन्छन्, त्यतिबेला उनले जे देखे त्यसबाट स्तब्ध भए।

सम्झना

थापाले भने, “उनीहरु सबै खेतमा थिए उनीहरु खुला आकासमुनि बसिरहेका थिए, उनीहरुसँग केही थिएन किनकि घरभित्र छिरेर केही ल्याउन सक्ने अवस्था थिएन, खेतबारीमा भएका केही चिजहरु पकाएर उनीहरुले खान्थे।”

७ दशमलव ८ म्याग्निट्युडको भूकम्पबाट राजधानी काठमाण्डू लगायतका क्षेत्रहरु प्रभावित भएका थिए।

त्यसपछि सयौं परकम्पहरु आइरहे।

Image caption ब्रिटेनमा बस्ने खनाल भूकम्पपछि हालै आफ्नो पुर्ख्यौली घर नेपाल आएका थिए।

वैशाखमा गएको भूकम्पको केन्द्रविन्दु गोरखा थियो।

ऋणसम्बन्धी परामर्शदिने काम गर्ने ऋषि खनाल वेस्ट लण्डन नजिकैको गाउँमा हुर्केका हुन्।

उनी गत जनवरीमा नेपाल गएका थिए।

उनी सम्झिन्छन्, “सबै घरहरु ध्वस्त भएका थिए, एउटा घर पनि बाँकी थिएन त्यहाँ, सबैजना ८-९ महिनासम्म पालमुनि बसिरहेको देखिए।

“अवस्था एकदम नराम्रो थियो, मेरो घर पूरै क्षतिग्रस्त भएको थियो, भाग्यवश मेरो घरभित्र आमाबुवा हुनुहुन्थेन, उहाँहरु भागिसक्नुभएको थियो र अहिले सकुशल हुनुहुन्छ।”

खनालका अनुसार मान्छेहरुलाई अझै धेरै गाह्रो छ।

उनले भने, “मेरो विचार पुनर्निर्माण कार्य शुन्य अवस्थामा छ, भूकम्प गएको समयभन्दा अहिलेको स्थिति खराब छ, त्यतिबेला मान्छेहरुले कम्तीमा सहानुभूति त दिइरहेका थिए। अहिले त त्यो पनि छैन, अचेल कसैले सोध्दैन पनि, गाउँमा मानिसहरुको समस्या उस्तै छ, सरकारबाट उनीहरुले खासै केही पाएका छैनन्, विद्यालयहरु पालमुनि सञ्चालन भइरहेका छन्।”

वीरन्द्र शर्मा जस्ता इअलिङ्गका राजनीतिकहरु पनि नेपालको नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा उपस्थित थिए।

क्षतिग्रस्त

उनी नेपालका लागि संसदीय समूहका अध्यक्ष हुन्।

उनी भन्छन् भूकम्पलाई बिर्सन सकिएको छैन्।

उनले थपे, “भूकम्पलाई बिर्सियो भन्नेमा म सहमत छैन, दुई साताअघि म आफ्नो निर्वाचन क्षेत्रमा गएको बेला एउटा स्थानीय समुदाय ५,००० पाउण्ड सहयोग गर्यो, यसको अर्थ मान्छेहरुले भूकम्पलाई बिर्सेका छैनन्, सबैले सम्झेका छन्।”

भूकम्पका कारण कतिपय ऐतिहासिक मन्दिर र धरोहरहरु नराम्री क्षतिग्रस्त भएका छन्।

तर मारिएका परिवारका सदस्यहरु, घाइते तथा घरबारविहीनहरु ब्रिटिश नेपाली समुदायको चासोमा परेका छन्।