चर्नोबल पारमाणविक दुर्घटनाको सम्झना

  • 26 एप्रिल 2016
तस्वीर कपीराइट Jerzy Wierzbicki

युक्रेनले चर्नोबलमा विश्वकै सबैभन्दा नराम्रो पारमाणिक दुर्घटना भएको ३० वर्ष पुगेको अवसरमा मंगलबार विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ।

सन् १९८६ को एप्रिलमा आजैको दिन पारणामिक केन्द्रमा भएको पहिलो विष्फोटको सम्झनामा साइरनहरु बजाइएका थिए।

चर्नोबल दुर्घटनालाई विश्वकै सबैभन्दा नराम्रो पारमाणविक दुर्घटनाको रुपमा लिइन्छ।

विष्फोटले पारमाणविक केन्द्रको छाना उडाएको थियो भने रेडियोधर्मी पदार्थको बादल फैलिएर युक्रेनी सीमा नाका हुँदै रुस, बेलारुस र उत्तरी युरोपको एउटा क्षेत्रसम्म पुगेको थियो।

स्मृतिसभा

पारमाणविक केन्द्र नजिक बसेका कामदारहरुका निम्ति घर पुनर्निर्माण गरिएको स्लाभूचिच शहरमा स्मृतिसभाको आयोजना गरिंदैछ।

युक्रेनका राष्ट्रपति पेत्रो पोरोशेन्को दुर्घटनास्थल नजिकै आयोजना गर्न लागिएको एउटा कार्यक्रममा सहभागी हुँदैछन्।

तस्वीर कपीराइट Jerzy Wierzbicki

किएभमा पीडित परिवारहरुका लागि गिर्जाघरमा प्रार्थना गरिनेछ।

केही पूर्व बासिन्दाहरु त्यही स्थानमा फर्किएका छन्।

फर्किएकामध्ये ६६ वर्षीया जोया पेरेभोचेन्कोले समाचार संस्था रोयर्टर्सलाई भनिन्, “मैले निकै कठिनाइका साथ आफ्नो अपार्टमेन्ट भेटाएँ, अहिले यो क्षेत्र जंगल जस्तै भएको छ, घरका छाना र सडकपेट्टीमा रुखहरु उम्रेका छन् सबै कोठाहरु खाली छन् झ्यालका ससा छैनन् र सबैथोक नष्ट भएका छन्।”

दुर्घटना भएको क्षेत्र वरपर रेडियोधर्मीको स्तर उच्च रहेको बताइन्छ।