'११ सय इन्जिनियर भूकम्प प्रभावित क्षेत्रमा’

  • 27 एप्रिल 2016
अस्थाइ टहरा
Image caption बासको उचित प्रबन्ध नहुदा लाखौं पीडित अस्थाइ टहरामा बस्न बाध्य छन्

शहरी विकास मन्त्रालयले इन्जिनियरको प्राविधिक टोलीलाई दुई दिन आधारभूत प्रशिक्षण दिएको र उनीहरु यसै हप्ताबाट प्रभावित क्षेत्रहरुमा खटाइने जनाएको छ।

छानिएका झन्डै १४ सय इन्जिनियरहरुमध्ये उपस्थित भएका ११ सयलाई उनीहरुको काम कर्तव्यबारे दुई दिने प्रशिक्षण सञ्चालन गरिएको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा शहरी विकास मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाईले सञ्चालन गरेको उक्त प्रशिक्षणको संयोजन भूकम्प प्रविधि राष्ट्रिय समाज एनसेट-नेपालले गरेको थियो।

एनसेट-नेपालका उपकार्यकारी निर्देशक रमेश गुरागाँईले भने, "पुनर्निर्माणका लागि जे जस्तो नीति नियम कानून बनेका छन् त्यसको बारे उहाँहरुलाई थाहा होस्। सरकारको अरु जे जस्तो संयन्त्र बनेको छ। कसरी त्यो काम हुन्छ त्यसको संरचनाको बारेमा ज्ञान होस् र गाँउका घर निर्माण गर्दा के के कुरामा विचार गर्नुपर्छ भन्ने बारेमा जानकारी दियौं।"

योजना

यी इन्जिनियरहरु अर्को हप्ताबाट नै भूकम्प प्रभावित क्षेत्रमा खटिने आयोजना प्रमुख शिवहरि शर्माले बताए।

उनले भने," प्रत्येक गाविसमा एकजना, प्रत्येक नगरपालिकामा तीन जना र स्रोत केन्द्रमा चारजनाको दरले इन्जिनियर पठाउने दरबन्दी स्वीकृत भएको हो।

“तर अहिले स्रोत केन्द्र स्थापना भइ नसकेकोले हामी इन्जिनियर जिल्लामा पठाइदिन्छौं र जिल्लाले कुन गाँउ वा नगरपालिकामा पठाउने हो, त्यो तोक्नेछ।"

प्रशिक्षण लिएका इन्जिनियरहरु पनि उत्साहित देखिएका छन्। उनीहरुले स्वतन्त्र रुपमा काम गर्न पाउने आशा राखेका छन्।

जनकपुरका इन्जिनियर आदित्य झाले भने, "निर्माणको प्राथमिकता गरिबबाट दिने हो कि धनीबाट हो कि वा नेताहरुको दबाबबाट दिने हो ? गरिबबाट दिने हो भने त्यो कसरी छुट्याउने हो ? हामीलाई कसैको दबाब नआओस्। आफ्नो तरिकाले काम गर्न पायौं भन्ने सजिलो हुनेछ।"

विदाइ

खटिएका इन्जिनियरहरुको प्रारम्भिक अनुबन्धन तीन महिनाको लागि हुनेछ। तर पुनर्निर्माणको काम सम्पन्न नहुञ्जेल उनीहरुलाई काम दिइने मन्त्रालयले जनाएको छ।

बुधबार एक समारोहका माझ प्रधानमन्त्री केपी ओलीले इन्जिनियरहरुलाई विदाइ तथा शुभकामना व्यक्त गर्ने कार्यक्रम छ।