'सिरियाली शहर दरायामा चरम मानवीय संकट'

  • 27 एप्रिल 2016
syria तस्वीर कपीराइट Reuters
Image caption दरायामा अन्तिम राहत नोभेम्बर २०१२ मा पुगेको थियो।

राष्ट्रसंघीय अधिकारीहरुले सिरियाली शहर दरायाको अवस्था अत्यन्तै नाजुक रहेको चेतावनी दिएका छन्।

तीन वर्षयता सरकारी फौजको घेराबन्दीमा रहेको उक्त शहरमा खाना, औषधी र सफा पिउने पानीको अभाव रहेको बताइएको छ।

संकट

राष्ट्रसंघीय आपतकालीन सहायता संयोजक स्टेफन ओ ब्रायनले जिनिभामा संवाददाताहरुसंग कुरा गर्दै उक्त शहरमा खानेकुराको गहिरो संकट रहेको बताए।

बीबीसी संवाददाता इमोजन फोउक्स भन्छिन्, "अन्तत:यो महिना त्यहांका आवश्यकताबारे राष्ट्रसंघले मूल्यांकन गर्न सम्भव भएको थियो। त्यसबाट त्यहां डरलाग्दो अवस्था भेटियो—खाना, पानी र औषधीको चरम संकट।"

कम्तीमा ४ हजार मानिस सरकारी फौजको घेराबन्दीमा छन।

अस्वीकार

राष्ट्रसंघीय आपतकालीन सहायता संयोजकले राहत पुर्याउन गरिएको अनेकौं आग्रह सिरियाली सरकारले अस्वीकार गरेको बताए।

उक्त शहरका बासिन्दाले सन् २०१२ को नोभेम्बरयता सहायता पाएका छैनन्।

शहरको विद्युत सेवा तीन वर्षयता बन्द छ।

राष्ट्रसंघका अनुसार सिरियामा करिब ५ लाख मानिस सरकार वा विद्रोहीहरुको घेराबन्दीमा छन्।

गत साता घेराबन्दी भएका क्षेत्रबाट सहायता निकायहरुले ५ सय जना घाइतेहरुको उद्धार गरेका थिए।

तीमध्ये आधा, सरकार समर्थक फौज र आधा, विद्रोहीले घेराबन्दीमा पारेका शहरबाट उद्धार गरिएका हुन्।