नेपाली आकाशमा बढ्दो तुवाँलोबारे चिन्ता

  • 29 एप्रिल 2016
सफा आकाशको बेला काठमाण्डू
Image caption पानी परेर आकाश खुलेपछि काठमाण्डू उपत्यकामा चारैतिरका पहाड स्पष्ट देख्न सकिन्छ तर प्रदूषण र तुवाँलोको बेला त्यो सम्भव हुन्न।

नेपालको वायुमण्डलमा धुलो जम्मा भएर तुवाँलोको रुप लिंदा राजधानी काठमाण्डू लगायत विभिन्न स्थानमा केही समययता हवाई उडानहरु समेत प्रभावित भएका छन्।

काठमाण्डूको धुलो र धुवाँ ठाउँ-ठाउँमा लागेको डढेलो र निकटवर्ती भारतीय शहरहरुको वायु प्रदूषणको प्रभाव नेपालको आकाशमा परेको वातावरणविद्ले बताएका छन्।

मौसमविद्हरुका अनुसार पानी परेमा वा वायुको वेग चलेमात्र यो तुवाँलो हटाउन सक्छ।

चर्को घाम लाग्ने एप्रिल महिनामा यो वर्ष औसत भन्दा कम पानी परेकोले पनि तुवाँलो बढेको हुनसक्ने विज्ञहरुले बताएका छन्।

प्रभाव

राजधानी काठमाण्डूमा निर्माणाधीन सडकका धुलो र सवारी साधनबाट निस्कने धुँवाले पनि हावा प्रदूषित बनाएकै छ।

छिमेकी भारतका विभिन्न शहरको तीव्र वायु प्रदुषणको प्रभाव पनि नेपालको वायुमण्डलमा परेको वातावरण अध्ययन गर्ने संस्था नेपाल इन्भाइरन्मेन्ट एण्ड साइन्टिफिक सर्विसेज (नेस)का निर्देशक तोरण शर्मा बताउँछन्।

उनी भन्छन्, "धुवाँ र बाटोको धुलोले यो पाला निकै अधिक मात्रामा तुवाँलो लागेको छ। डढेलो पनि एक कारक हो। भारतको दिल्ली, पञ्जाब, हरियाणा, राजस्थान आदि स्थानको प्रभाव पनि अहिले धेरै ठूलो छ।" बढ्दो वायु प्रदूषणमाझ बेलाबेला हावाहुरी चलेपनि हप्तौंदेखि राजधानी काठमाण्डूको वायुमण्डलमा तुवाँलो लागेको छ।

तुलनात्मक रुपमा सफा शहर पोखरामा समेत आकाश धुम्मिँदा उडानहरु रद्द हुँदै आएका छन्।

उडान रद्द

काठमाण्डू, पोखरा, डोल्पा लगायतका ठाउँमा टाढाबाट हेर्दा जमीन प्रष्ट नदेखिने कम 'भिजिविलिटी'को समस्याका कारण हवाई उडानहरु प्रभावित भएको बताइएको छ।

नेपाल एअर ट्राफिक कन्ट्रोलर्स एशोशियशनका अध्यक्ष देवेन्द्रप्रसाद श्रेष्ठले प्रतिकूल मौसमका कारण उडानहरु रद्द गर्नुपरेको जनाए।

उनी भन्छन्, "मौसमको कारणले उडानहरु रद्ध भएका छन्। उडानका लागि पाँच किलोमिटरको भिजिविलिटी आवश्यक पर्छ। अब पानी नपरुन्जेल त्यस्तै हुन सक्छ।" वायु प्रदूषणले मानव स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ।

स्वाशप्रश्वासका समस्यादेखि क्यान्सरसम्म निम्त्याउने भन्दै संसारभर वायु प्रदूषण कम गर्न अनेक उपाय अपनाइन्छ।

वायु प्रदूषणको तीव्र समस्या भएका छिमेकी भारत र चीनको हावाले पनि नेपालको आकाशलाई असर पार्ने भएकाले यसलाई क्षेत्रीय मुद्दाका रुपमा अगाडि बढाउनुपर्ने विज्ञहरु बताउँछन्।